अभिनन्दनपछि पूर्वराजाको भाषण : जता जाउँ मलाई आऊ, देश बचाऊ भनेको सुन्छु (पूर्णपाठ)

राजनीतिक दलको नाम नलिइ भने–अनुहार फेरि फेरि षड्यन्त्र नगर


१९ पुष २०८०, बिहीबार
gyanendra

भैरहवा । पूर्व राजा ज्ञानेन्द्र शाहले भैरहवा पुगेर भाषण गरेका छन् । भैरहवामा आज (बिहीबार) आयोजित अभिनन्दन कार्यक्रममा मन्तव्य राख्दै पूर्व राजा शाहले भने, ‘म जता जाऊँ, जहाँ पुगूँ, जनआवाज उठेको सुन्छु । मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ भनेको सुन्छु ।’

उनले नाम नलिई राजनीतिक दलका नेताहरूको आलोचना समेत गर्न भ्याए । पूर्व राजा शाहले भने, ‘अनुहार फेरि फेरि षड्यन्त्र नगर ।’ राष्ट्रको अस्तित्वमाथि खिया लाग्दै गएको उनले बताएका छन् । आफू नेपालीकै बीचमा रहेको र बोलिरहेको उनले बताए । शाहले भने, ‘म बोलिरहेको छु, देश बचोस्, देश बनोस् भन्ने पुर्ख्यौली भावना पोखिरहेको छु ।’

उनले नेपाली माटो र नेपाली बाटो समातेर अघि आग्रह समेत गरेका छन् । पूर्वराजा शाहले द्वन्द्व, विग्रह र विवादबाट उठेर नेपालको माटो र नेपाली बाटो समातेर हिँड्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।’

उनले अब सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार पारेर देश बनाउनुपर्ने धारणा राखे । ‘त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ । देश हामीले नै बनाउने हो–हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो,’ उनले भने । पूर्वराजा शाहले भने, ‘हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ–हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।’

यस्तो छ पूर्वराजा शाहको सम्बोधनको पूर्णपाठ :

उपस्थित महिला तथा सज्जनवृन्द,

पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ। आयोजक–प्रबन्धकर्ता सबैमा धन्यवाद । नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश – सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश। अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश। यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति – मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेका छौँ – कताकता आफै हारिरहेका छौँ ।
म जता जाउँ जहाँ पुगौं – जनआवाज उठेको सुन्छु – मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ – देशको सभ्यता र समृद्धि बढाउ । यहाँ खडा भएर म भन्दछु – म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन – सदा सदा नेपालीका साथमा छु – नेपालभित्रै छु – नेपालीहरुको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।
समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन । देश सुहाउँदो र बलियो आविष्कारहरुमार्फत अगाडि बढ्नुपर्छ। तर, आज देश जर्जर भएको छ । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवाजनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो। यस्तो अवस्थाको अन्त हुनु पर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ ।

राष्टिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने – अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ । हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रो राष्ट्रकोअस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ –हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।

सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौँ । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ – नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रकृयामा हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन् । त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ – त्यो हामी आफैले तय गर्ने विषय हो । हामी सबैकोदृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ ।

त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ । देश हामीले नै बनाउने हो–हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो । हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौँ । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।
विगतको सबै दुःख बिर्सिदेऊ
मायाले मायालाई भरिदेऊ
घृणाको आगोलाई कतै जलाइ देऊ
पहिले यो आगोलाई मिलेर निभाइ देउँ
भाग्यको सीमा हुँदैन, हुनु पनि हुँदैन
अब भाचिएको टुक्राहरु जोडी देऊ
उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने
पहिले अन्याय अत्याचार मुक्त गरिदेऊ
अनुहार फेरि फेरि षडयन्त्र नगर
त्यस्ताको चालबाट आफूलाई बचाइदेऊ
सबैमा फेरि एक पटक हाम्रो धन्यवाद

जय नेपाल
भैरहवा
२०८० पुष १९ गते

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७