राष्ट्रिय सभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै


२० पुष २०८०, शुक्रबार
nirbachan aayog

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आज (शुक्रबार) मतदाता नामावली प्रकाशन हुँदैछ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ ।

जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ । यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो । यस्तै प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षको १८ थियो ।
आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने र त्यसमा आज दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ । उक्त दावी विरोधउपर छानबिन गरी आयोगले आइतबार (पुस २२ गते) अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते उम्मेदवारलाई चुनाव चिन्ह दिइनेछ । माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७