कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान


२२ पुष २०८०, आईतवार
health check CK9oofi5aM
सांकेतिक तस्वीर

कर्णाली । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताए । नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती आएकाले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परीक्षण थालिएको उनले जनाए ।

‘अहिले तीन जिल्लामा नमूनाका रूपमा नागरिकको स्वास्थ्य परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौँ’, उनले भने, ‘सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ ।’ नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जगाउने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको रहेको उनको भनाइ थियो । उनका अनुसार नागरिक स्वास्थ्य परीक्षणका आधारमा सरकारले स्वास्थ्य नीति र कार्यक्रम ल्याउनेछ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र हुम्ला जिल्लाका ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार ल्याउन परीक्षणकार्य सुरु गरिएको बताए । स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अबको पञ्चवर्षीय नीति तथा कार्यक्रम बन्ने उनले जनाए ।

प्रदेश सरकारले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय भएको बताए । आठबीसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारको समन्वयमा स्वास्थ्य नीति निर्माण हुनुपर्ने विचार व्यक्त गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७