हुम्लाको हाल : उद्धारका लागि जहाज बोलाउने पहुँच नहुँदा सुत्केरीको गयो ज्यान


२४ पुष २०८०, मंगलवार
sutkeri death Humla

हुम्ला । बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक सुत्केरीको मृत्यु भएको छ । हुम्लाको ताँजाकोट गाउँपालिका–५ डोप्ककी २३ वर्षीया अन्सु बुढाको उपचारका क्रममा हिजो राति मृत्यु भएको हो ।

थप उपचारका लैजान नेपालगञ्जको जहाज कुर्दाकुर्दै उनको ज्यान गएको हो । यही पुस १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए । सुत्केरी भएको ११ दिनपछि उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको उनका ससुरा जीतबहादुर बुढाले जानकारी दिए ।

उनले सुत्केरी भएदेखि बुहारी र नातिनीको स्वास्थ्य अवस्था ठीक भए पनि एक्कासी बुहारीलाई ज्वरो आएको र टाउको दुख्यो भनेपछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको बताए । सुत्केरी अवस्थामै समस्या देखिएपछि बुढालाई उपचार सम्भव नहुने भन्दै मदाना स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लैजान रेफर गरेको थियो ।

तर सुविधा सम्पन्न ठाउँमा लिन नसके पछि थप उपचारका लागि उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएको ससुरा बुढाले बताएका छन् । सोमबार दिउँसो उपचार लागि ल्याएको र राति मृत्यु भएको केन्द्रका डाक्टर रन्जित शाहले बताए । सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कम हुँदा मृत्यु भएको उनको भनाइ थियो । सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनुपर्ने भए पनि बुढाको ४९ मात्रै रहेको उनको भनाइ थियो ।

अहेव सम्झना भण्डारीका अनुसार अवस्था जटिल भएकाले उपचारका लागि आएकी बुढालाई तत्काल रिफर गरिएको थियो । तर परिवारले उनलाई समयमै सुविधायुक्त अस्पतालमा लैजान सकेनन् । दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाउन परेको हो । जहाजका लागि पहल थाल्दा थाल्दै उनको ज्यान गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७