अमेरिका र बेलायतले थाले हुथी विद्रोहीविरुद्ध भीषण आक्रमण


२७ पुष २०८०, शुक्रबार
Huthi bidrohi
हुथी विद्रोही समूह । तस्वीर : मोहम्मद हुवैस / एएफपी

काठमाडौं । अमेरिका र बेलायतले यमनको इरान समर्थित हुथी विद्रोही समूहविरुद्ध भीषण आक्रमण शुरु गरेका छन् ।
गाजामाथि इजरायली आक्रमणयता हुथी समूहले लाल सागरमा पश्चिमा देशका मालवाहक पानी जहाजमाथि आक्रमण गर्दै आएको थियो । यसविरुद्ध अमेरिका र बेलायती सेनाले संयुक्त रुपमा आक्रमण शुरु गरेका हुन् ।

दुवै देशका सेनाले मिसाइल तथा लडाकु जेटबाट आक्रमण गरेको पुष्टि गरेका छन् । हुथी समूहविरुद्ध अमेरिका र बेलायतले गरेको यो पहिलो जवाफी कारबाही हो। गत महिनादेखि ह्वाइट हाउसले हुथी समूहलाई लाल सागरमा आक्रमण रोक्न र नरोके कडा कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।

अमेरिकाको चेतावनीपछि केही हप्ता आक्रमण रोकेको हुथी समूहले गत मंगलबार ड्रोन तथा मिसाइल प्रयोग गरी मालबाहक जहाजमा आक्रमण गरेको थियो । हिजो हुथी समूहले अदनको खाडीमा एक मालबहाक जहाजमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । गत नोभेम्बर यता इरान समर्थित हुथी समूहले लाल सागरमा ड्रोन तथा मिसाइलबाट २७ वटा आक्रमण गरेको छ । हुथी समूहका एक कमाण्डर अब्दुल कादर अल मोर्तदाले अमेरिका र बेलायतले यमनको राजधानी सना, सादा, धमार लगायतका क्षेत्रमा दर्जनौँ पटक हवाइ आक्रमण गरेको सामाजिक सञ्जाल एक्स मार्फत् पुष्टि गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७