सडक डिभिजन प्रमुख चार करोडको भ्रष्टाचार मुद्दामा दोषी ठहर


१ माघ २०८०, सोमबार
adalat

काठमाडौं । सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौँले चौधरीलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मिति तोकेको छ ।

विशेषका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले आइतबार भ्रष्टाचार मुद्दामा दोषी ठहराएको हो। कसुर ठहर भएका उनलाई माघ १५ मा सजाय तोक्ने आदेश भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय मोरङमा कार्यरत रहँदा पदीय मर्यादा विपरीत सडकका विभिन्न आयोजनामा ठेकेदारहरूसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले २०७७ साल फागुन ५ मा अख्तियारले चौधरीलाई बिगो ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ साथै जरिवाना र कैद सजाय समेत हुन माग दाबी गरेको थियो ।

चौधरीले घर घडेरी, बैंकमासमेत रकम जम्मा गरेको भन्ने उजुरी परेको थियो । अख्तियारले अनुसन्धान गरी जितेन्द्रकुमार चौधरी र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरा समेतका नाममा घर जग्गा खरिद गरेको भेटिएको थियो ।

गैरकानुनी रूपमा आर्जन गरेको बिगो बराबरको श्रीमती, छोरा र उनको नाममा राखिएको सम्पत्तिबाट असुल उपर गर्न अख्तियारको माग रहेको थियो । चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरेको, स्रोत नखुल्ने सम्पत्ति, उनकी पत्नी किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको नाममा समेत रहेको अख्तियारको दाबी थियो ।
बिगो जफत गर्ने प्रयोजनार्थ उनकी पत्नी र छोरालाई समेत प्रतिवादी कायम गरी सम्पत्ति जफत गर्न मागदाबी गरी आरोपपत्र दर्ता भएको थियो । त्यसैगरी, जितेन्द्रकुमार चौधरीकै अर्को एउटा भ्रष्टाचार मुद्दामा भने विशेष अदालतले सफाइ दिएको छ।

सडक डिभिजन कार्यालय विराटनगरमा प्रमुख पदमा रहँदा भूमि इन्फ्रास्ट्रक्च्चर प्रालिसँग ज्वाइन्ट भेन्चरमा ठेक्कामा काम गर्दा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो । अख्तियारले ३५ लाख रुपैयाँ गैर कानुनी तवरले कमिसनको नाममा घुस लिई श्रीमतीको खातामा जम्मा लगाई भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो । त्यो आरोप गलत साबित भएर उनले सफाइ पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७