यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालको पहिलो खेल आइतबार न्युजिल्याण्डसँग


५ माघ २०८०, शुक्रबार
under

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औं संस्करण आज (शुक्रबार) देखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार अमेरिका र आयरल्याण्ड तथा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपाल सहित १६ वटा टोलीको सहभागिता छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ ।

नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्याण्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्ने छ ।

प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबिया छन् । समूह ‘बी’ मा आयोजक दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् । समूह ‘ए’ मा भने भारत, बङ्गलादेश, अमेरिका र आयरल्याण्ड परेका छन् । समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन–तीन टोली एउटा समूहमा रहने छन् ।

यस्तै समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन–तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन्। ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने छन् । समूह ‘ए’ को विजेताका रूपमा ‘सुपर सिक्स’ चरणमा पुगेको टोलीले समूह ‘डी’ को विजेतासँग भने खेल्ने छैन । समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ। समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।

‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई–दुई टोली यू–१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७