राष्ट्रिय गौरवका आयोजना छनोटमै पुनर्विचार गरिनु पर्छ : मन्त्री बस्नेत


५ माघ २०८०, शुक्रबार
Shaktibahadur basnet

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरूको छनौटका लागि निश्चित मापदण्ड बनाउनु पर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरू अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरूको छनौट गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् ।

आज (शुक्रवार) संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजनाहरूको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताए । मन्त्री बस्नेतले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरूलाई सरुवा गर्ने कुनै मनशाय नरहेको बताए । विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टीकरण थियो ।

उनले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरूले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताए । मन्त्री बस्नेतले भने, ‘अब राष्ट्रिय गौरवको आयोजनाहरू भनि सकेपछि त्यसको निम्ति त्यसको व्यवस्थापनको कानूनी व्यवस्था अलि विशिष्ट रुपमा हुनुपर्ने हो कि भन्ने कुरा ठिकै कुरा हो । तर त्यसो गर्नका लागि राष्ट्रिय गौरवको आयोजनाहरूको छनौट, पहिचान गर्ने कुरामा एउटा निश्चित मापदण्डसहित यो प्रसंगमा फेरि होलिष्टिक एप्रोचमा नै छलफल गरिदिँदा उपयुक्त नै हुन्छ जस्तो लाग्छ ।’

बैठकमा समितिका सदस्यहरूले राष्ट्रिय गौरवका आयोजनाहरूको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरियाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरूको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराइन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७