प्रदर्शनीका लागि राख्न ट्रकमा चढाएर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर


५ माघ २०८०, शुक्रबार
Army heli
तस्वीर स्रोत : अशोक दाहालको फेसबुक

काठमाडौं । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि हेलिकोप्टरलाई ट्रकमा चढाएर जंगीअड्डा लगेको छ । ९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डा लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रदर्शनी वर्षेनी गर्दै आएको छ । ‘चलिरहेको हेलिकोप्टर नै ल्याउने कि भन्ने थियो, तर बीचमा तत्काल केही समस्या परेर कतै लानु पर्‍यो भने प्रदर्शनीस्थलबाट निकाल्न गाह्रो हुने भएकाले मर्मतमा रहेको हेलिकोप्टर लगिएको हो’, भण्डारीले भने, ‘कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ ।’

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ । ‘उद्घाटन चाहिँ २ बजे हुँदैछ, अरु दिन १० देखि ५ बजेसम्म कार्यक्रम हुनेछ’, भण्डारीले भने ।

जंगीअड्डाले शिवरात्रिका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । त्यही क्रममा सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान गतिविधि झल्कने स्टलसहित फोटो तथा युनिट विशेष प्रदर्शनी गर्न लागिएको हो । प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७