पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै


२०८० माघ ६ शनिबार ०८:०९ बजे

पर्वत । पर्वतमा रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्न थालिएको छ । स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रवर्द्धन गर्न थालिएको हो ।

परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोग समेत घट्न थालेपछि कृषि ज्ञान केन्द्रले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको हो । स्थानीय किसानलाई जैविक खाद्यवस्तुमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रवर्द्धन गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने धान, मकै, कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, जौ, गहुँ, तोरीलगायत अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए ।

रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेका कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी पाइने भएकाले संरक्षणमा जोड दिइएको पौडेलको भनाइ छ । पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको भए पनि कसरी उपयोग गर्ने भन्ने ज्ञान समेत सहरी क्षेत्रमा हराउँदै गएकाले किसानलाई परिकार बनाउने र बजारीकरण गर्ने गरी तालिम दिने गरिएको सो कार्यालयले जनाएको छ ।

स्थानीय बजारमा फापर, कोदो र मकैको पीठो, कागुनोलगायत बालीको माग बढेको छ  । रैथान बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्नसक्ने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष रैथाने बाली उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि रु पाँच लाख र प्रशोधन तथा बजारीकरणका लागि रु चार लाख रकम विनियोजन गरिएको छ ।

यसैबीच, कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनका विभिन्न परिकार बनाई खुवाउने गरेको छ । केन्द्रमा शुक्रबार जिल्लाका कार्यालय प्रमुख, सङ्घसंस्था साथै किसानलाई परिकार बनाएर खुवाइएको हो । यसले रैथाने बालीका उत्पादनका परिकार बनाउने र खाने प्रचलन बढ्ने अधिकृत पौडेलको भनाइ छ । स्थानीय होटलमा समेत रैथाने बालीका उत्पादनका विभिन्न परिकार पाइने गरेको भए पनि सोचेजस्तो उपभोग भने हुन नसकेको किसान विनोद भुसालले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७