जनमत पार्टी मधेस सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता


२०८० माघ ९ मंगलबार ०७:३९ बजे

काठमाडौँ । डा. चन्द्रकान्त राउत ‘सीके’ नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । जनमत पार्टीका दुई जना मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई आफ्नो राजीनामा बुझाएका छन् । सरकारबाट बाहिरिने निर्णयसँगै जनमतले गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

‘मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेका छौं,’ सांसद चन्दन सिंहले भने । पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए । ‘मसहित मधेस सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ । केही बेरमा राजीनामा बुझाउँदै छौं,’ उनले भने, ‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं ।’

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ । राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ । मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ । हिजोमात्र सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि हुँदा जनमतले विरोध जनाएको थियो। सोही क्रममा मन्त्रीसहित ३ जना सांसद घाइते भएका थिए भने दजनौं कार्यकर्ता घाइते भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७