सन् २०२३ मा इजराइलको वैदेशिक व्यापारमा संकुचन


१० माघ २०८०, बुधबार
isreal

तेल अविव । इजराइलको केन्द्रीय तथ्याङ्क ब्यूरो (सिबिएस) ले सन् २०२२ को तुलनामा सन् २०२३ मा मुलुकको विदेशी व्यापारको रिपोर्ट दिएको छ ।

सन् २०२३ मा इजराइलबाट सामानको निर्यात (हीरा बाहेक) सबैभन्दा बढी हुने देशहरूमा मोरक्को, इजिप्ट, हङ्गेरी, रोमानिया, उरुग्वे, लिथुआनिया, हङकङ र पोल्यान्ड थिए । यसको विपरीत इजराइलबाट निर्यातमा सबैभन्दा धेरै कमी भएका मुलुकहरूमा मलेसिया, अल्बानिया, ताइवान, फ्रान्स, टर्किए, क्यानाडा र संयुक्त अधिराज्य थिए । इजराइलमा सामानको आयात (हीराबाहेक) मा सबैभन्दा धेरै कमी आएका मुलुकहरूमा पाराग्वे, नर्वे, रुसी सङ्घ, उरुग्वे र ब्राजिल थिए । यसको विपरीत सबैभन्दा आयातमा धेरै वृद्धि भएका मुलुकमा नामिबिया, जाम्बिया, दक्षिण अफ्रिका, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स थिए ।

इजराइलको सबैभन्दा ठूलो व्यापार बचत (हीराबाहेक) भएका मुलुकहरूमा अमेरिका, आयरल्यान्ड, ब्राजिल, भारत, स्लोभेनिया र साइप्रस थिए । त्यस्तै इजराइलको सबैभन्दा धेरै व्यापार घाटा (हीराबाहेक) भएका मुलुकहरूमा चीन, स्विट्जरल्यान्ड, जर्मनी, टर्किए र इटाली थिए । इजराइलमा सन् २०२३ मा वस्तुहरूको निर्यात कूल दुई खर्ब ३४ अर्ब ८० करोड सेकेल (६५ अर्ब अमेरिकी डलर) थियो । यो सन् २०२२ को तुलनामा आठ अर्ब ९० करोड सेकेल (तीन अर्ब ५० करोड अमेरिकी डलर अर्थात तीन दशमलव सात प्रतिशत) ले कम हो ।

त्यस्तै वस्तुहरूको आयात कूल तीन खर्ब ३७ अर्ब ७० करोड सेकेल (९२ अर्ब अमेरिकी डलर) भएको छ । यो सन् २०२२ को तुलनामा २४ अर्ब सेकेल (छ अर्ब ५० करोड अमेरिकी डलर अर्थात छ दशमलव छ प्रतिशत) ले कम हो । समग्रमा वस्तुहरूको कूल व्यापार घाटा एक खर्ब दुई अर्ब ९० करोड सेकेल (२८ अर्ब अमेरिकी डलर) भएको छ ।

यो सन् २०२२ को तुलनामा १२ दशमलव आठ प्रतिशतले कम हो । इजराइलको युरोपेली मुलुकहरूतर्फ वस्तुहरूको निर्यात नौ दशमलव सात प्रतिशतले घटेको छ भने युरोपेली युनियन (इयु) बाट वस्तुहरूको आयातमा १२ दशमलव आठ प्रतिशतले कमी आएको छ । अक्टोबरमा सुरु भएको गाजा युद्धले उत्पादन र कृषि दुवैमा स्थानीय उत्पादनलाई प्रतिकूल असर गरेको र युद्धले आयातित सामानहरूको मागलाई पनि घटाएको बताइएको छ । रासस÷एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७