ललिता निवास प्रकरण : नौं दिनदेखि निरन्तर सुनुवाइ


१० माघ २०८०, बुधबार
Lalita Niwash nirantar sunuwai

काठमाडौं । ललिता निवासको ११२ रोपनी सरकारी जग्गा घोटाला मुद्दामा अन्तिम सुनुवाइ जारी छ । विशेष अदालतले मुद्दालाई निरन्तर सुनुवाइमा राखेको छ । न्यायाधीशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा माघ २ बाट खोलिएको फाइलमा सातौं दिन बहस भइरहेको छ । उक्त मुद्दामा सुरुमा सरकारी वकिलहरुले सुरुवाती बहस गरेका थिए । सरकारी पक्षले दुई दिन बहस गर्दै अभियोगमा दाबी गरिएका सबै प्रतिवादीलाई दोषी ठहर गर्नुपर्ने तर्क गरेका थिए ।

सरकारी बहसपछि प्रतिवादीका कानुन व्यवसायीहरुले बहस थालेका थि ए। अहिलेसम्म ८ जनाका तर्फबाट सुनुवाइ भएको र अझै सय जनाभन्दा बढी प्रतिवादीको पक्षबाट बहस बाँकी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
१७५ जना प्रतिवादी रहेको र पूर्वमन्त्री, सचिवसमेत जोडिएको ठूलो मुद्दा भएकाले समय लाग्ने देखिन्छ । उक्त मुद्दामा बहस गर्नका लागि वरिष्ठ अधिवक्ताहरुको लाइन रहेको छ । भीआईपी प्रतिवादीहरु रहेका कारण एउटै प्रतिवादीले धेरै वरिष्ठ अधिवक्तालाई बहसका लागि नियुक्त गरेकाले समय लाग्ने अदाललते जनाएको छ ।

विशेष अदालतले माग गरेको फाइल प्राप्त नहुँदा लामो समयदेखि यो विवाद विशेष अदालतमा अड्केको थियो । नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिखित जवाफ पेस गरेपछि यो मुद्दामा पेसीमा चढेको थियो ।
अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो । अख्तियारले नेपाली कांग्रेसका उप सभापतिसमेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनी मुख्य प्रतिवादी बनाएको थियो ।

ललिता निवास प्रकरणमा अख्तियारले ११० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । ललिता निवासको मुद्दामा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु, अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेहरु अभियुक्त बनाइएका थिए । पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७