यस वर्षको भूपू सैनिक सम्मेलन इटहरीबाट


११ माघ २०८०, बिहीबार
army
फाइल फोटो

काठमाडौँ । नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाैंलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो । पूर्वीपृतना इटहरी, नम्बर २ हिले, नम्बर १८ गाइघाट, नम्बर २१ चारआली बाहिनी अड्डा तथा पाँचथरको रणशेर गण र ओखलढुङ्गाको दुर्गा बक्स गणमा आगामी फागुन ३ गते सम्मेलन हुनेछ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व सम्हालेपछि दुई वर्षअघि दिपायलबाट सुरु भएको ‘भूतपूर्व सैनिक सम्मेलन’ अघिल्लो वर्ष बुटवल, दाङ, पोखरा, खैरेनीटार, सिन्धुली र बर्दिवासमा भएको थियो । चितवनको भतपुरस्थित नयाँ सबुज गण र नुवाकोटको त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा आगामी फागुन ११ गते उक्त सम्मेलन हुँदैछ ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने प्रचलन रहिआएको छ । काठमाडाँैस्थित सैनिक मञ्च टुँडिखेल, नम्बर १ बालाजु, नम्बर १३ ललितपुर र नम्बर १७ बाहिटी बाहिनी अड्डा तथा नम्बर १ विपद् व्यवस्थापन गण, भक्तपुरको इन्द्रबक्स गण र गठ्ठाघरको भैरव वाहन गुल्म, कालीजङ्ग गण धुलिखेल र चौतारास्थित इन्द्रध्वज गणमा आगामी चैत ४ गते भूपू सैनिक सम्मेलन हुनेछ ।

विसं २०७० असोजमा सैनिक कल्याणकारी बोर्ड स्थापना भएपछि यस कार्यले निरन्तरता पाउँदै आएको छ । सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिनेछ ।

मुलुकमा हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको संख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको संख्या १६ हजार दुई सय ११ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायतका सेवा प्राप्त गर्ने हिताधिकारीको संख्या १० लाखभन्दा बढी छ । सेना भूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ ।

सम्मेलनका क्रममा भूपू सैनिकको मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी, सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका माता–पितालाई सम्मान तथा अन्तक्र्रिया र छलफल हुनेछ । सम्मेलनका अवसरमा भूपू र आश्रित परिवारको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि प्रदानका साथै टोपी, सल, ट्रयाकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्ता समेत उपलब्ध गराउने सैनिक परम्परा छ ।

सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो । सेनाको सङ्गठन, सैनिक नेतृत्व र हिताधिकारीबीच आत्मीयता, भरोसा र विश्वास वृद्धि हुने त्यस्तो जमघटले सम्पूर्ण हिताधिकारीको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढ्ने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउँछन् । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने मूल नाराका साथ आयोजना हुँदैआएको सम्मेलन भूपू सैनिकको सर्वपक्षीय सम्मुन्नति र प्रगतिमा केन्द्रित छ ।

सम्मेलनमा हुने पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्नेछ । देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मेलन हुँदै आएको छ । सम्मेलनका क्रममा हुने छलफल र अन्तरक्रियाले भइरहेका प्रयासको मूल्याङ्कन र सङ्गठनलाई योजना तर्जुमामा महत्वपूर्ण सुझाव प्राप्त हुनेछ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७