राष्ट्रियसभा निर्वाचनका बेला ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस, नोबेलमा भर्ना


११ माघ २०८०, बिहीबार
gramtham gaupalika

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधबार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका हुन् । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ । नोबेलको भेन्टिलेटरमा राखेर अध्यक्ष थारुको थप उपचार भइरहेको र अहिलेसम्म होश आइनसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि आज (बिहीबार) मतदान हुँदैछ । स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन् । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् । मतदान गर्न कुनै कारणले कोही मतदाता आउन नसकेमा अनुपस्थित भएकै मानिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७