सहकारीबाट स्वरोजगार बन्दै महिला, पाँच करोडको कारोबार


११ माघ २०८०, बिहीबार
Besar sahakari

दाङ । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्रायः महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।

सहकारी संस्थाका कारण जिल्लाका अधिकांश महिला बेफुर्सदिला हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण सहकारी क्रमिकरूपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण धेरै स्थानीय महिलाले गाउँमै रोजगारी समेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीमा रहेको एकता महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताइन् ।

यस संस्था स्थापना भएदेखि नै महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको छ । महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तिकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ छ । संस्थामा आबद्ध महिलाहरूमा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको उनले बताइन् ।

‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’, सहकारी संस्थाका अध्यक्ष अधिकारीले भनिन् । विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म पाँच सय २७ सदस्य आबद्ध रहेका छन् । संस्थाले अहिलेसम्म रु पाँच करोड बराबरको कारोबार गर्न सफल भएको छ ।

संस्थाले मुख्य बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ । संस्थामा आबद्ध सदस्य घोराही–१८ हात्तीखर्ककी रीता सार्की विगत लामो समयदेखि बेसार खेती गर्दै आएकी छन् । सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले किलोको रु तीन सयमा बिक्री वितरण गर्दै आएको छ । रीता जस्तै यहाँका धेरै महिलाले बेसार खेती गर्दै आएका छन् । घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसारखेती गर्दै आएको उनको भनाइ छ । सहकारी संस्थामा आबद्ध सदस्यले उत्पादन गरेको सबै बेसारलाई संस्थाले चाना काटेर, सुकाएर, पिसाएर बेच्ने आएको छ ।

संंस्थाले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि बेसार बेच्ने गरेको छ । हात्तीखर्कमा बेसार खेतीका लागि राम्रो सम्भावना रहेको छ । संस्थामा आबद्ध सदस्यले पर्याप्त मात्रामा बेसार उत्पादन गरे पनि बजारीकरणको केही समस्या रहेको सहकारी संस्थाकी उपाध्यक्ष सुनकुमारी विष्ट बताउँछिन् ।

सबै सदस्यले बाहिरको बेसार नकिनेर संस्थाबाटै लैजाने गरेको उनले बताइन् । वार्षिकरूपमा रु एक लाख बढीको संस्थाले बेसार बिक्री गरेर आम्दानी गर्दै आएको उनको भनाइ छ । उनले पनि बेसारखेती, बाख्रापालन, तरकारीलगायतबाट मासिक रु २५ हजार आम्दानी गर्दै आएकी छन् । सदस्यले मासिक रु पाँच सयदेखि दुई हजारसम्म बचत गर्ने गरेका छन् । संस्थाबाट अन्य महिलाले पनि ऋण लगेर विभिन्न तरकारी खेती, किराना पसल, अन्य उद्यमलगायतका व्यवसाय गर्दै आएका छन् ।

आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आबद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यक्रममा जोड्न सकिने संस्थाका अध्यक्ष अधिकारीले बताइन् । संस्थाले विभिन्न समयमा सीपमूलक तालिमसँगै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ । साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा रु १० हजार र सुत्केरी भएको बेला रु दुई हजार सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७