संसदीय समिति वैठकमा मन्त्री अनुपस्थित भएकोमा एमालेको आपत्ति, बैठक स्थगित


१२ माघ २०८०, शुक्रबार
Raghu ji panta
फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्व उपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित सांसदहरु बैठकमा सहभागी थिए । बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गरिन् । सभापति राजकिशोर यादवले उक्त विधेयकको दफाबार छलफलका लागि समितिका सचिव बबिता मिश्रलाई अनुमति दिए । सचिव मिश्रले विधेयकको पहिलो दफा पढेर सहमतिका लागि प्रस्तुत गरिन् । तालिका साथ सांसदहरुले पहिलो दफा पारित भएको जनाउ दिइन् ।

त्यत्तिकैमा नेकपा (एमाले) का सांसद रघुजी पन्त बैठक हल प्रवेश गरे । बैठक सुरु भइसकेपछि केही ढिलो गरी उपस्थित भएका नेता पन्तले पनि आफ्नो विधेयक उपरको संशोधनका बुँदा पढेर सुनाए । उनले आफ्नो कुरा राखिसकेपछि बैठकहलको चारैतिर नजर लगाए । विभागीयमन्त्री नदेखेपछि सांसद पन्तले पूर्वप्रधानमन्त्री र वरिष्ठ नेतालगायतको उपस्थिति हुँदा बैठकमा मन्त्री उपस्थिति नहुने अवस्थामा बैठक चल्न सक्दैन भने । उनले समितिको बैठकलाई बेवास्ता गर्न नमिल्ने जिकिर गरे । त्यसपछि सभापति यादव केहीबेर अकमकिए ।

राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा धेरै सांसद काठमाडौँबाहिर भएकाले बैठकमा छलफल गर्दै गर्ने भन्ने उद्देश्यले बैठक बोलाइएको सभापति यादवले उल्लेख गरे । आजको छलफलको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित थियो । जसअनुसार पर्यटनमन्त्री बैठकमा उपस्थिति हुनुपर्ने थियो । तर, आजको बैठकमा मन्त्रीलाई नबोलाइएको समितिले जनाएको छ ।

यत्तिकैमा बैठकमा सहभागी सांसदहरु कानेखुसी गर्न थाले । सांसद पन्तले बैठकमा गणपूरक संख्या पनि नपुगेकाले यो बैठक स्थगित हुनुपर्छ भनेर माग गरे । सभापति यादवले केहीबेर सम्झाउने प्रयास गरे । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि सांसदको सहमतिमा बैठक सञ्चालन हुँदै गर्दा गणपूरक पुर्‍याएर अगाडि बढ्न सकिने धारणा राखे । उनले भने, ‘कहिलेकाहीँ हेड काउन्ट’ गरेर मात्रै हुँदैन, पहिले अनुमति लिएर म उपस्थित हुन्छु है भनेर पनि बैठक सहमतिमा सञ्चालन गर्न मिल्छ, तर यस्तो विषयमा मन्त्री उपस्थिति हुनुपर्छ ।’

सांसद पन्तले आफ्नो अडान नछाडेपछि सभापति यादवले बैठक स्थगित भएको घोषणा गरे । प्रतिनिधिसभा नियमावली, २०७९ मा समितिको गणपूरक संख्या नपुगेमा समितिको सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को कुनै समय वा दिनसम्मका लागि बैठक स्थगित गर्नसक्ने व्यवस्था छ । समितिको बैठक लगातार दुईपटक गणपूरक सङ्ख्या नपुगेमा कम्तीमा एक तिहाइ सदस्यहरुको उपस्थितिमा बैठक बस्न सक्ने र सोको जानकारी सभापतिले सभामुखलाई दिनुपर्ने व्यवस्था छ । समितिमा कूल २७ सांसद छन् । आजको बैठकमा कूल नौ सांसद मात्रै सहभागि थिए ।

समितिका सचिव बबिता शर्माका अनुसार आजको बैठकमा विभागीय मन्त्रीलाई बोलाइएको थिएन । बैठकमा विभागीय मन्त्रालयका सचिवहरुको उपस्थितिमा विधेयकको छलफल अघि बढाउने उद्देश्यले बैठक तोकिएको थियो । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयका सहसचिवको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७