सूर्यदर्शन सहकारीका थप दुई जनाविरुद्ध इन्टरपोलमा ‘डिफ्यूजन नोटिस’


१४ माघ २०८०, आईतवार
sahakari suryadarsan

काठमाडौँ । सूर्यदर्शन सहकारीका थप दुई पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।
आज (आइतबार) सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्व अध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । गत शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।

दुई साताअघि जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौँले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुुरोध गरेको थियो । यो नोटिस जारी भएपछि विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्छ । यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेललाई कास्की जिल्ला अदालतले गत असोज २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । यस मामलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् । सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ । सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७