सूर्य नेम्वाङ पक्राउ : यस्तो छ लाहुरेहरुमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला


१६ माघ २०८०, मंगलवार
Surya Nembang 2

काठमाडौं : भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराइदिने नाममा करोडौं ठगीको आरोप लागेका भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङ पक्राउ परेका छन् । प्रहरीले पाँचथरको फिदिम नगरपालिका–४ स्थित उनको निवासबाट पक्राउ गरेको हो ।

बेलायतको लण्डनमा बस्दै आएका नेम्वाङलाई पाँचथर आएको सूचनाको आधारमा फिदिम नगरपालिका–४ स्थित उनकै घरबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पाँचथर प्रहरीले नेम्वाङलाई पक्राउ गरेर काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले नेम्वाङलाई प्रहरीले ठगी सम्बन्धी कसूरमा हिरासतमा राखेर छानबिन गर्न जिल्ला अदालत, काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरीरहेको बताए । नेम्वाङले आफू ‘इमिग्रेशन एडभाइजर’ हुँ भन्दै भूतपूर्व गोर्खा सैनिक तथा उनका परिवारसँग करोडौं रकम असुलेको उनीमाथि आरोप छ ।


लाहुरेमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला
नेम्वाङ अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिक हुन् । उनी लामो समय गोर्खाहरुको अधिकारको लागि सञ्चालित ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सह–संयोजक हुन् । आन्दोलन र अभियानकै क्रममा उनले ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सहमतिमा बेलायत स्थित ‘एभरेष्ट सोलिसिटर’मा सन् २०१७ सालबाट आबद्ध भएर काम गर्न सुरु गरेका थिए ।

नेम्वाङले भूतपूर्व गोर्खा सैनिकहरुमाथि आवासीय भिषाको लागि संयोजन गरिदिने नाममा ठगी सुरु गरेको भन्दै आलोचना भएको थियो । त्यसपछि उनी ‘संयुक्त संत्याग्रह संघर्ष समिति’ र ‘एभरेष्ट सोलिसिटर’बाट अलग भएका थिए । यद्यपी उनले आफू अहिले पनि ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सह-संयोजक भएको दाबी गर्दै आएका छन् ।

एभरेष्ट सोलिसिटर र ‘संयुक्त संत्याग्रह संघर्ष समिति’बाट अलग भएपछि उनी लण्डनको एउटा पाकिस्तानी ल फर्म ‘बोण्ड आडम सोलिसिटर्स’सँग आबद्ध भएका थिए । नेम्वाङले पाकिस्तानी ल फर्म ‘बोण्ड आडम सोलिसिटर्स’का ‘लिगल कन्सल्टेन्ट हुँ’ भन्दै संयन्त्र नै बनाएर बेलायती आवासीय भिषाको काम सुरु गरेका थिए ।

नेम्वाङले आवासीय भिषाको लागि प्रक्रिया मिलाइदिने भन्दै सुरुमा भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारबाट पल्टनका कागजात, राहदानी, इमेल र बैंक कार्ड लिने गर्दथे । त्यसपछि उनले सुरुमा नै भिषा आवेदनका लागि भन्दै १ हजार पाउन्ड अर्थात् एक लाख ६८ हजार लिने गरेका थिए ।

नेम्वाङले भिषा प्रक्रियामा क्लाइटको आफैले इमेल बनाई दिएर पासवर्ड राखीदिने गरेका थिए । इमेलमा भिषा प्राप्त गरेको वा नगरेको सूचना प्राप्त भएपछि उनले ठगीको नयाँ श्रृखला सुरु गर्थे । यदि आवासीय भिषा प्राप्त गरेको सूचना पाएपछि भिषाको ग्यारेन्टी हुन्छ ‘यति दिनुहोस्’ भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा अशुल्ने गरेका थिए ।

भिषाको ग्यारेन्टी हुने भएपछि सोझा लाहुरे र तिनका सन्तानहरुले प्रतिव्यक्ति १० देखि ३० लाखसम्म दिने गरेका थिए । भिषा अस्वीकृत भए अब अदालतमा मिलाउनुपर्छ भन्दै उनले ५ देखि २० लाखसम्म अशुल्ने गरेका थिए । अदालतमा भिषाको प्रक्रिया चलिरहेको बेला पनि यति पैसा जम्मा नगरे भिषा प्राप्त नहुने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको एक गोर्खा सैनिकका सन्तानले बताए । अदालतले केस जिताएपछि होम अफिसले आवेदकको पासपोर्ट माग्दा दुई हजार पाउण्ड माग्ने गरेको बताउँदै उनले अतिरिक्त पैसा असुल्ने गरेका थिए ।

बेलायतमा कोर्स नगरि लिगल कन्सल्टेन्ट रुपमा काम गर्नु गैर कानूनी मानिन्छ । तर नेम्वाङले गोर्खा सैनिक र तिनका सन्तानलाई भिषा दिलाएको भन्दै पासवर्ड सहितको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका थिए । हेर्नुहोस् नेम्वाङले विज्ञापन गर्दै राखेका तस्बिरहरु :

UK Nepal


यसरी सामाजिक सञ्जालमा आवासीय भिषा पाएको तस्बिर राख्नु बेलायतमा गैर कानुनी मानिन्छ । यदि यसरी सामाजिक सञ्जालमा राखिएकाहरुले उजुरी गरेमा उनीहरुमाथि कारबाही हुने बेलायती कानुन छ ।

रकम नदिनेलाई उनले विभिन्न धाकधम्की पनि दिने गरेको पीडितले प्रहरीलाई बताएको छ । उनले अवैध रुपमा उठाएको रकम हुन्डीमार्फत नेपाल पठाउने गरेको समेत आरोप लागेको छ । लाखौं ठगी भएपछि नेम्वाङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा नेम्वाङ पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७