बाँसबारी जग्गा प्रकरण : व्यवसायी अरुण चौधरीसहित पक्राउ पर्नेको संख्या तीन पुग्यो


१८ माघ २०८०, बिहीबार
basbari 1

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी, छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको हो । उनीहरूलाई बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा प्रकरणबारे अनुसन्धान गर्न बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अरुण औद्योगिक–व्यापारिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्ष रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीका सहोदर भाइ हुन् । चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ । अजित नारायण भने राष्ट्रपतिका राजनीतिक सल्लाहकार तथा कांग्रेस नेता सुनिल थापाका काका हुन् । काका पक्राउ परेपछि उनी सीआईबीमा पुगेका छन् ।
थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।

१५ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको अनुसन्धान शुरू गरेको थियो । तर अख्तियारको अनुसन्धान अघि नबढेपछि सीआईबीले पनि यो विषयमा अनुसन्धान अघि बढाएको थियो । २०२० सालमा चीन सरकारको अनुदान सहयोगमा स्थापना भएको बाँसबारी छाला तथा जुत्ता कारखाना दुई दशकमै यो संस्था तहसनहस भएको थियो ।

लगातार घाटा बेहोरेको देखाएर कारखानाको ८३ रोपनी जग्गामध्ये १० रोपनी बिक्री गर्ने निर्णय गरिएको थियो । त्यसपछि, २०४३ भदौ १३ गते बसेको बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिको ४०१ औँ बैठकले प्रतिरोपनी २ लाख ५० हजारका दरले कुल १५ लाख रुपैयाँमा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयर लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो । जग्गा बिक्रीबाट कारखानाले बेहोरिरहेको घाटा पूर्ति हुने दाबी गरिएको थियो । तर जग्गा बिक्री गर्दा कारखानाले पैसा होइन, च्याम्पियन फुटवेयर लिमिटेडको १५ सय कित्ता शेयर, प्रतिशेयर १ हजार रुपैयाँका दरले पाउने भयो ।

च्याम्पियन फुटवेयरले बाँसबारीबाट जुन मूल्यमा जग्गा प्राप्त गर्‍यो, त्यो सरकार स्वयंले गरेको मूल्यांकनभन्दा निकै कम थियो । १९९२ अप्रिल ५ (२०४८ चैत २३ गते) सरकारले स्वतन्त्र मूल्यांकनकर्तामार्फत् गरेको मूल्यांकनमा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडले चर्चेको ८३ रोपनी जग्गाको त्यसबेलाको मूल्य ७ करोड ४ लाख ४२ हजार रुपैयाँ रहेको उल्लेख छ ।

यो मूल्यअनुसार पनि प्रतिरोपनी जग्गाको मूल्य ८ लाख ४९ हजार रुपैयाँ पर्छ । तर च्याम्पियनले जम्मा २५ लाख रुपैयाँको शेयर दिएर बाँसबारीको १० रोपनी जग्गा हात पार्‍यो । तर जग्गा हात पारेपछि तीन वर्षमै च्याम्पियन फुटवेयरले जुत्ता उत्पादन बन्द गरेको थियो । त्यसपछि, सरकारको नाममा रहेको शेयरसमेत एकैपटक चौधरी समूहले आफ्नोमा नामसारी गरेर १० रोपनी सरकारी जग्गा नै निजी सम्पत्ति बनाएको खुलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७