हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य


१९ माघ २०८०, शुक्रबार
hetauda cement uddhyog

बागमती । सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए । रकम अभावले कोइला समेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ थियो ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको संख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ । दैनिक सात सय पँचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताए । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उनले जानकारी दिए । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ । आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र रु २३ करोड ५५ लाख नोक्सान भएको थियो ।
उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७