साहारा सहकारीका पीडितहरुलाई उजुरी दिन चितवन प्रहरीको आग्रह


१९ माघ २०८०, शुक्रबार
GB Rai Shahara

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन छुटेका निक्षेपकर्ताहरूलाई उजुरी दिन आग्रह गरेको हो ।

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको सहकारीको कार्यालय सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेकोले ठगी सम्बन्धी कसुरमा जाहेरी परेकाले उनीहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) बचतकर्ताको ८५ करोड रकम हिनामिना गरी फरार छन् ।
उक्त सहकारीबाट राईले अर्को संस्थालाई ४१ करोड रूपैयाँ बिनाधितो ऋण दिएको भेटिएको छ । उनी आफैंले एक करोड ७३ लाख चार हजार ६९१ रूपैयाँ गैरकानुनी रुपमा झिकेका छन् । जीवी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिइएको प्रहरीले जनाएको छ ।

बचत डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएर रकम पाउनुपर्ने भन्दै संर्घष गर्दै आएका छन् । जिल्ला अदालत चितवनले गत असोज २९ गते जीबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश जारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७