राष्ट्रका साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनु पर्छ : सभामुख

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने


२२ माघ २०८०, सोमबार
devraj

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधार गर्दै राष्ट्रको साझा मुद्दामा राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशन प्रारम्भ भएको अवसरमा संसद् बैठकको सुरुमा आज संक्षिप्त मन्तव्य राख्दै सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझाव आत्मसात गर्दै संसद् अधिवेशनलाई नतिजामुखी बनाउनु पर्ने बताए ।

संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले संसदीय प्रणालीप्रतिको विश्वास र भरोसा वृद्धि हुने उनको भनाइ थियो । लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने बताउँदै उनले जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात् गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गरे ।

‘विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामूहिक प्रतिबद्धता जरुरी छ । संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणीसमेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं’ उनले भने ।

संसदीय प्रणालीमा संसद्को काम कानुन निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानुन बनाई सहयोग गर्ने रहेको उनलेब ताए । संसद्का विगतका दुई अधिवेशन कानुन निर्माणका रूपमा नतिजामुखी नभएको आफूले पाएको सभामुखको भनाइ थियो ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्ने
संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको आजका लागि बोलाइएको बैठक सकिएको छ । अर्को बैठक माघ २४ गते बुधबार बिहान ११ बजे बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा र राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराएका थिए । यसैगरी सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका छन् ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गरे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७