राक्सिराङकाे एउटै गाउँका १३० जनामा भाइरल ज्वरो, एकको मृत्यु


२३ माघ २०८०, मंगलवार
joro
सांकेतिक तस्वीर

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको एउटै गाउँका १३० जनामा भाइरल ज्वरोको संक्रमण देखिएको छ । राक्सिराङ गाउँपालिका–९ टर्लिङमा एक हप्तायता भाइरल ज्वरो फैलिएको हो । ज्वरोकै कारण एक जनाको निधन भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार काप्रीले जानकारी दिएका छन् ।

‘राक्सिराङ गाउँपालिका–९ का धेरै जनामा भाइरल ज्वरोका बिरामी भेटिएका छन् । अहिलेसम्म १३० जना बिरामी छन्,’ उनले भने, ‘ज्वरोकै कारण एक जनाको निधन भइसकेको छ ।’ उनका अनुसार सोही गाउँका ५५ वर्षका टीकाबहादुर नगरकोटीको निधन भएको हो । उनको उपचारको क्रममा निधन भएको थियो ।

भाइरल ज्वरो फैलिएको ठाउँमा चेपाङ र नगरकोटी जातिको बाक्लो बसोवास छ । बिरामी हुनेमा बालबालिकादेखि सबै उमेर समूहका छन् । बिरामीमा ज्वरो आउने, वाकवाकी लाग्ने, रुघाखोकी तथा छाती दुःख्ने लक्षण देखिएको काप्रीको भनाइ छ । मौसम परिवर्तनसँगै खानपानका कारण ज्वरो फैलिएको अनुमान छ । गाउँपालिकाले प्रकोपकै रुपमा भाइरल ज्वरोका बिरामी बढेपछि स्वास्थ्य शिविर नै सञ्चालन गरिसकेको छ । ‘पहिलो चरणमा हेल्थ क्याम्प नै गरिसकियो,’ उनले सुनाए, ‘भोलि (बुधबार) फेरि चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली लिएर जाँदैछौँ । अवस्था सुधार हुँदैछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७