प्रतिनिधिसभा सचिव पाण्डेयको राजीनामा स्वीकृत, महासचिवमा नियुक्त गरिंदै


२३ माघ २०८०, मंगलवार
pandey

काठमाडौँ । प्रतिनिधिसभा सचिवबाट पद्मप्रसाद पाण्डेयले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सचिवबाट पाण्डेयले दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार प्रतिनिधिसभा सचिव पाण्डेयले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएकी छन् । ‘राष्ट्रपति रामचन्द्र पौडेल समक्ष संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधिसभाको सचिव पदबाट मिति २०८० माघ २३ गते दिनुभएको राजिनामा सोही मितिदेखि लागु हुनेगरी राष्ट्रपतिले स्वीकृत गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाण्डेयलाई सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्को महासचिवमा सिफारिस गरेका छन् । महासचिव सिफारिस भएको २ महिना पुग्नलाग्दा समेत नियुक्ति नभएपछि पाण्डेयले प्रतिनिधिसभा सचिवबाट राजीनामा दिएका हुन् ।

मंसिर २५ मा पाण्डेयलाई महासचिवमा सिफारिस गरिएको थियो । तर, रीत नपुगेको भन्दै राष्ट्रपतिले नियुक्ति रोकेका थिए । पाण्डेयले प्रतिनिधिसभाको सचिवबाट राजीनामा नगरी महासचिवमा सिफारिस गरिएको थियो । सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्तिको तयारी भएको छ । स्रोतका अनुसार सम्भवतः मंगलबार साँझसम्म पाण्डेयलाई राष्ट्रपतिले संघीय संसद्को महासचिवमा नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७