पाकिस्तानमा आज आम निर्वाचन : ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन


२५ माघ २०८०, बिहीबार
pakistan

इस्लामावाद । पाकिस्तानमा आज (बिहीबार) निर्वाचन हुँदैछ । आज हुन लागेको आम निर्वाचनका लागि करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार यस चुनावमा १२.८५ करोड भन्दा बढी दर्ता मतदाताहरूले मतदान गर्नेछन् । ‘रेडियो पाकिस्तान’ को समाचार अनुसार मतदाताको सुरक्षा सुनिश्चित गर्न करिब ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा प्रहरी, नागरिक सशस्त्र बल र सशस्त्र बलका कर्मचारीहरू पर्छन् । मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भई साँझ ५ बजेसम्म चल्नेछ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुल १२ करोड ८५ लाख ८५ हजार ७६० जनाले मतदाता मतदान गर्न योग्य रहेका छन् । राष्ट्रिय सभा सिटका लागि ४ हजार ८०७ पुरुष, ३१२ महिला र दुई तेस्रोलिङ्गी गरी ५ हजार १२१ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

चार प्रदेश सभाका लागि १२ हजार १२३ पुरुष, ५७० महिला र दुई तेस्रोलिङ्गी गरी १२ हजार ६ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा छन् । पाकिस्तानको निर्वाचन आयोगका एक अधिकारीले भने कि मजिस्ट्रेटको विशेष अधिकार पाएका पीठासीन अधिकारीहरूले पुलिस र सेनाको सुरक्षामा मतदान केन्द्रहरूमा मतदान सामग्री लगेका छन् ।

निर्वाचन आयोगले देशभर ९ लाख ७ हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरेको छ, जसमा पुरुषका लागि २५ हजार ३२०, महिलाका लागि २३ हजार ९५२ र अन्य ४१ हजार ४०३ मिश्रित मतदान केन्द्र रहेका छन् । निर्वाचन आयोगका अनुसार ४४ हजार मतदान केन्द्र सामान्य छन् भने २९ हजार ९ सय ८५ संवेदनशील र १६ हजार ७६६ अति संवेदनशील भनेर छुटाइएको छ । आतङ्ककारी समूहको आक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७