भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै


२५ माघ २०८०, बिहीबार
khop zbCGbOVoNo
फाइल फोटो

भोजपुर । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।

भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले अभियानबारे सरोकारवाला निकायसँग छलफल गरेको छ । जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षता भएको कार्यक्रममा खोप अधिकृत भरत भण्डारीले अभियानबारे जानकारी दिएका छन् ।

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष्य लिएको खोप अधिकृत भण्डारीले बताए । उनले भने, ‘बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला महामारीका रुपमा देखा पर्दै आएकाले लक्ष्य हासिल गर्न चुनौती थपिएको छ ।’ भोजपुरमा छ महिनादेखि १५ वर्ष मुनिका १२ हजार ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

दादुरा–रुवेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ गतेदेखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ । दादुरा–रुवेला सबभन्दा बढी संक्रामक रोग भएको तथा यो रोग लागेका एक बिरामीले १८ जनासम्मलाई सार्न सक्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७