राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनु पर्छ : प्रधानमन्त्री

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्


२५ माघ २०८०, बिहीबार
pm 4

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन् । उत्पादन बृद्धि र रोजगारी सिर्जना हुने खालका योजनालाई विशेष प्राथमिकतामा राखेर योजना छनोट गर्न उनले मन्त्रालयहरूलाई निर्देशन दिए ।

‘बजेट बनाउँदा यथार्थपरक होऔँ । ‘प्रोएक्टिभ’ भएर स्रोत जुटाउनेतिर सोचौं । हाम्रो नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्छ । व्यवस्थालाई बलियो बनाउनु पर्छ’, उनले भने । बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विगत वर्षमा हुने गरेका असमझदारीलाई अन्त्य गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘विगतमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच केही अन्योलता देखिने गरेको थियो, अब त्यसो हुन हुँदैन ’

पछिल्लो समय देशको अर्थतन्त्री सही बाटोमा आगाडि बढेको बताउँदै प्रधानमन्त्रीले निरन्तरको प्रयासपछि राजस्व सङ्कलन बढेको र अर्थतन्त्रका बाह्य सूचकहरू राम्रा भएको बताए । पुँजीगत खर्च बढ्न नसक्नुका कारण पहिल्याएर आगामी दिनमा वित्तीय एवं मौद्रिक नीति तय हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय महत्व र प्राथमिकतामा आधारमा बजेट बनाऔँ । पुँजीगत खर्च किन बढ्न सकेको छैन, त्यसको गम्भीर समीक्षा गरौँ र बजेट बनाऔँ ।’

सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले माग र सामथ्र्यबीच विरोधाभास भएको स्थितिमा सन्तुलित बजेट आवश्यक पर्ने बताए । छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बजेटका स्रोतहरू राजस्व, अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणको अवस्थाबारे जानकारी गराएका थिए ।
मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा आज उनीसहित मन्त्रिपरिषद्का सदस्यहरुसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले भने, ‘सङ्घीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो । यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र चासो बुझ्नु नै भयो । त्यसलाई गम्भीरतापूर्वक लिनुस् ।’ मुख्यमन्त्रीहरूको सक्रियताबाट सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले सङ्घीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारे । 

छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री दहालको अग्रसरतालाई गम्भीररूपमा लिँदै सङ्घीय मन्त्री र सांसद पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । कोरला नाका सञ्चालनमा प्रधानमन्त्री दाहालले लिनुभएको पहलका लागि धन्यवाद दिँदै उनले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक समयमै निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छिमेकी मुलुक भारतसँग जोडिएका छोटी भन्सार कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरे । मधेस प्रदेशमा सिँचाइ र खानेपानीको चर्को समस्या रहेको उल्लेख गर्दै उनले ती समस्या समाधान गर्न सङ्घीय सरकारले पहल लिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री यादवले भने, ‘सङ्घ र प्रदेशको संयुक्त लगानीमा सिँचाइ आयोजना सञ्चालन गरौँ, तराई–मधेसमा उत्पादकत्व बढाऔँ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयता कार्यान्वयनमा देखिएका ढिलासुस्तीका सम्बन्धमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । कर्णाली प्रदेशमा अझै विद्युतीकरणको समस्या रहेको, सिँचाइको भरपर्दो व्यवस्था हुन नसकेको र दूरसञ्चार सेवा कमजोर रहेको उल्लेख गर्दै उनले यी समस्या समाधानमा सम्बन्धित सङ्घीय मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले लिएको पहलको सरहाना गर्दै सोहीस्तरमा सङ्घीय सरकारका मन्त्रीहरूले पनि अग्रसरता दिनुपर्ने बताए । उनले सङ्घीयता लागू गर्न ढिलो हुनुमा केन्द्रिकृत मानसिकता मूलरूपमा जिम्मेवार रहेके उल्लेख गरे । मुख्यमन्त्री शाहले भने, ‘प्रधानमन्त्री ज्यूको भारत भ्रमणका क्रममा सुदूरपश्चिमको विकासमा महत्वपूर्ण सम्झौता भएका छन् । यो सरकारको पालामा नै सुदूरपश्चिमको विकास प्राथमिकतामा परेको छ । म प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु ।’

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीय मन्त्रालयले अधिकार छिटो हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै भने, ‘कानुन बनाएर दिनुपर्ने अधिकारका लागि समय लाग्ला । तर, निर्णय गरेर दिनुपर्ने अधिकारमा ढिलाइ गर्नुभएन ।’ उनले सङ्घीयता कार्यान्वयनमा कर्मचारी प्रशासनले एकात्मक मानसिकता त्याग्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले देखाएको सक्रियतालाई सङ्घीय मन्त्रीहरूले पनि अनुशरण गर्नुपर्ने बताए । उनले भने, ‘सङ्घीयता हामीले नै ल्याएको होे, कार्यान्वयनमा पनि हामीले नै अपनत्व लिनुपर्छ । संविधान निर्माण गर्ने शक्तिहरू नै सङ्घीयता कार्यान्वयनमा लाग्नुपर्छ ।’ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालको भावना मन्त्रीहरूले पनि बुझ्नुपर्ने बताए । उनले भने, ‘सङ्घीयता कार्यान्वयनमा सङ्घीय मन्त्रीज्यूहरूको ‘रिपोर्ट कार्ड’ जान्न चाहेका छौँ । सङ्घीय मन्त्रीहरूले तल हस्तान्तरण गर्नुपर्ने अधिकारमा ढिलाइ नगर्नुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७