अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ : पूर्व अर्थमन्त्री पौडेल


२६ माघ २०८०, शुक्रबार
Bishnu poudel 2 scaled

गण्डकी । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताएका छन् ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औं केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार बताए । ‘राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, पूर्व अर्थमन्त्री पौडेलले भने, ‘सरकारले राष्ट्रिय गौरवका विकास आयोजनाको भुक्तानीसमेत दिन सकिरहेको छैन, वैदेशिक ऋण र अनुदानमा कटौती भएको छ ।’

पूँजीगत खर्च न्यून भएको भन्दै उनले राजस्वको परिचालन सन्तोषजनक नरहेको धारणा राखे । माग, आपूर्ति, उत्पादन, आयात, निर्यात आदि घट्दा अर्थतन्त्र सुस्ताएको पौडेलले बताए । विदेशी मुद्राको सञ्चिति बढे पनि सरकारले उपयुक्त काममा विदेशी मुद्रालाई खर्च गर्न नसकेको उनको भनाइ छ ।

अर्थतन्त्रलगायत मुलुकका सबै क्षेत्र दुरुस्त हुन पहिले राजनीति दुरुस्त हुनुपर्ने एमाले उपाध्यक्ष समेत रहेका पौडेलले बताए । संसद्मा रहेको अङ्कगणितका कारण तत्काललाई वर्तमान सरकारको कुनै विकल्प नेदिखएको उनले बताए । नेपाल टेलिकमलाई सक्षम व्यवस्थापन र गुणस्तरीय सेवाका आधारमा प्रतिस्पर्धी कम्पनी बनाउन सकिने भन्दै उनले त्यसतर्फ सक्रिय हुन सङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७