इमरान खान समर्थित उम्मेदवारको अग्रता, जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी


२७ माघ २०८०, शनिबार
gauhar ali imaran qqoBmVAkEF

काठमाडौं । पाकिस्तानमा हिजो भएको आमचुनावमा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई) समर्थित उम्मेदवारले अग्रता कायमै राखेको छ ।

पीटीआईमाथि प्रतिबन्ध लागेपछि नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक सय ४६ सिटको नतिजा घोषणा भएकोमा पीटीआई समर्थित उम्मदेवारले ६० सिटमा जितेका छन् । यस्तै पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) ले ४३ र बिलवाल भुट्टो तथा आसिफ अली जरदारीको नेतृत्वमा रहेको पाकिस्तान पिपल्स पार्टी (पीपीपीले) ले ४२ सिटमा जितेका छन् । यसैगरी अन्यले छ सिट जितेका निर्वाचन आयोगले जनाएको छ ।

पाकिस्तानको संसदमा ३३६ सिट रहेकोमा अहिले २६५ सिटमा चुनाव भएको हो । ७० सिट समानुपातिक प्रणलीमा विजयी हुन्छन् । सरकार बनाउनका लागि कम्तीमा १३३ सिट जित्नुपर्छ । राज्यका सूचना बेचेको, उपहार बेचेको, असंवैधानिक विवाह गरेको लगायतका मुद्दामा ३४ वर्ष जेल सजाय तोकिएका पूर्व प्रधानमन्त्री खान अहिले जेलमा हुनुहुन्छ । पीटीआई समर्थित अन्य कतिपय नेताहरूले पनि जेलबाटै चुनावमा प्रतिस्पर्धा गरेका छन् ।

चुनावी मैदानमा आएका नयाँ अनुहार र खानले जेलभित्रबाटै सञ्चालन गरेको चुनावी अभियान प्रभावकारी देखिएको पाकिस्तानी राजनीतिक विश्लेषकहरूले बताएका बीबीसीले जनाएको छ । पीटीआईले आफ्नो सामाजिक सञ्जाल ’एक्स’ मा आफूहरू बहुमत पाउने बाटोमा रहेको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७