अस्थायी अनुमतिको आडमा ठेकेदारको यस्तोसम्म मनलाग्दी ?


२७ माघ २०८०, शनिबार
crasar budhiganga

अछाम । नेपाली समाजमा ‘औंलो दिंदा डुढुलो निल्नु’ भन्ने उखान जनजिव्रोमा झुण्डिएको छ । अहिले यहि उखान अछामका क्रसर उद्योगीहरुका हकमा मिल्दो देखिएको छ ।

अस्थायी अनुमतिको आडमा केहि व्यवसायीले अहिले अछामको बूढीगंगा नदीमा जथाभावी रुपमा क्रसर चलाईरहेका छन् । अस्थायी अनुमतिपत्रको आडमा ठेकेदार र व्यापारीहरुले जथाभावी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको स्थानीय बताउँछन् । बज्रगुरु कन्स्ट्रक्सन र नाति कन्स्ट्रक्सनका सञ्चालकहरुले खोलामा मनोमानी मच्चाइरहँदा स्थानीय सरकारवाला भने तै चुप मैचुप भएर बसिरहेका छन् ।

साँफेबगरस्थित केही व्यापारीसँग मिलेर तिनले नदीजन्य पदार्थमा लुट मच्चाइरहँदा नियन्त्रण गर्नुपर्ने सम्बन्धित निकाय भने कारबाहीका लागि चासो देखाउनुको साटो नदेखेको जस्तै गरेर बसिरहेको छ । जसले विभिन्न आशंका उब्जाएको छ । जयगढ रामारोशन सडकअन्तर्गत जयगढ दर्ना सडकखण्डको बज्रगुरु कन्स्ट्रक्सन र साँफे मेल्लेख सडकखण्डको पिएस बानियाँ जेभीअन्तर्गतको नाति कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

निर्माण कार्यका लागि साँफेबगर नगरपालिकाले अस्थायी अनुमतिपत्र प्रदान गरेको छ । निर्माणका लागि आवश्यक नदीजन्य पदार्थको मात्र उत्खनन् गर्नुपर्नेमा ठेकेदार कम्पनीले मनोमानी मच्चाएको छ । अस्थायी क्रसर सञ्चालनका नाममा कम्पनीले नदीजन्य पदार्थको कारोबार थालेको स्रोत बताउँछ । ‘अस्थायी क्रसर अनुमतिको नाममा ठेकेदार कम्पनीले मनलाग्दी गरिरहेको छ । नदीजन्य पदार्थको कारोबार हुन थालेको छ । सडकखण्डमा आवश्यक पर्ने ढुंगा, गिट्टीबालुवाको सहज व्यवस्थालाई अनुमति दिइएकोमा उनीहरुले नाजायज फाइदा उठाइरहेका छन्’, स्रोतले भन्यो ।

letter

बज्रगुरुको नाममा सञ्चालित अस्थायी क्रसर उद्योगमा साफेबगरका प्रतिष्ठित व्यापारी दीर्घ ठकुल्लाको नेतृत्व छ । उक्त कन्स्ट्रक्सनले आर्थिक मिलेमतोमा आफ्नो नामको क्रसर उद्योग उनलाई दिएको छ । हालसम्म पनि बज्रगुरुले आफ्नो निर्माण साइटमा गिट्टी लगेको छैन । दुई वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले गिट्टीबालुवा र ढुंगा उत्खनन् गरेर बिक्री वितरण गर्दै आएको छ । इस्टिमेटअनुसार मात्रै गिट्टीबालुवा उत्खनन् गर्न भनिए पनि उद्योगबाट उत्पादित नदीजन्य पदार्थ सरकारी अड्डादेखि निजी घर निर्माणमा प्रयोग भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

यता, ठकुल्लाले भने आफूले बज्रगुरु कन्स्ट्रक्सन सञ्चालनमा सहयोग मात्र गरेको बताएका छन् । मंगलसेनस्थित नेपाली सेनाको ब्यारेकमा भौतिक पूर्वाधार निर्माणका लागि त्यहीँबाट उत्पादित सामग्री बिक्री गरिएको उनले स्वीकारे । नाति कन्स्ट्रक्सन सञ्चालनमा साँफेबगरकै व्यापारी भीम कुँवरले सघाएका छन् । तर उनले क्रसर उद्योगबाट अहिलेसम्म एक रुपैयाँको पनि कारोबार नभएको दाबी गरेका छन् । कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु रावतले अस्थायी अनुमतिको कुनै पनि दुरुपयोग नगरेको दाबी गरे ।

निर्माणका लागि आवश्यक पर्नेजति मात्र त्यहाँबाट उत्खनन् गरिएको उनले बताए । स्रोतका अनुसार बज्रगुरुले स्थापनादेखि हालसम्म करोडौं रुपैयाँको कारोबार गरिसकेको छ । बूढीगंगा नदीमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको भनी केही दिनअघि उजुरी परेको जिल्ला प्रशासन कार्यालय, अछामका सूचना अधिकारी सन्तोष विश्वकर्माले बताए । उक्त उजुरीपश्चात् प्रशासनले विभिन्न निकायसँग पत्राचार गरेको छ । यता, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले कारबाहीको जिम्मा समितिलाई दिइएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७