प्रमुख नभएको मौका पारी करोडौं रकम ‘कुम्ल्याएर’ प्रभु बैंकका कर्मचारी फरार

शाखामा कार्यरत नौं कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो


२७ माघ २०८०, शनिबार
Bank

रुकुमपश्चिम । रुकुमपश्चिमको आठविसकोट नगरपालिकाको केन्द्र राडी बजारस्थित प्रभु बैंकका एक कर्मचारी ग्राहकको करोडौं रकम हिनामिना गरेर फरार भएका छन् ।

बैंकको अप्रेशन इञ्चार्ज पदमा कार्यरत निराजन शाहले बतचकर्ताको करोडौ रुपँयाँ हिनामिना गरेको गुनासोपछि बैंकले आन्तरिक छानबिन अगाडि बढाएको छ । झुठ्ठा विवरण र खातावालाको जानकारी बिनै बैंकमा जम्मा गरेको रकम खातामा नभएपछि रकम हिनामिना भएको रहस्य खुलेको हो ।

अहिले आठविसकोट शाखामा छानबिनका लागि प्रभु बैंकको कर्णाली प्रदेशबाट एक टोली पुगेको छ । टोलीले आन्तरिक छानबिन गरिरहेको छ भने उक्त शाखामा कार्यरत सबै कर्मचारीलाई कारबाहीको प्रक्रिया सुरु भएको बैंक व्यवस्थापनले जानकारी दिएको छ । शाखामा कार्यरत नौ जना कर्मचारीलाई जिम्मेवारविहीन बनाएर पाँच जना नयाँ कर्मचारीको टोली खटाएको शाखा प्रबन्धक डम्बर गौतमले जानकारी दिएका छन् ।

अप्रेशन इञ्चार्ज शाहले तोकिएको जिम्मेवारीको दुरुपयोग गरेर एक करोड बढी रकम हिनामिना गरेको हुनसक्ने देखिएको उल्लेख उनले बताए । कति बचतकर्ताको कति रकम दुरुपयोग भयो भन्ने बिषय सम्पूर्ण छानबिनपछि मात्र खुल्ने उनले बताएका छन् । प्रबन्धक गौतमका अनुसार आफू बिदामा बसेको बेला शाहले आफ्नै आइडिबाट विभिन्न व्यक्तिको खाताको रकम ट्रान्सफर गरेको र यसअघि विभिन्न व्यक्तिहरुको रकम खातामा जम्मा गरिदिन्छु भन्दै जम्मा नगरिदिएको देखिन्छ ।

विश्वासको आधारमा चेक दिएका र खातामा पैसा जम्मा गर्न भनि पैसा दिएका नजिकका आफन्तहरु पनि अहिले बैंकको कर्मचारीबाट ठगिएको भन्दै गुनासो गर्दै सम्पर्कमा आइरहेका छन् । पीडितहरुले दिएको जानकारीअनुसार शाहले आठविसकोट नगरपालिका १३ का शंकर पुनको खाताबाट १० लाख, वडा नम्वर ११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपियाँ अन्यत्रै ट्रान्सफर गरेको पाइएको छ । यस्तै वडा १० का एक जनप्रतिनिधिले आफ्नो छोरीले जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपँयाँ इञ्चार्ज शाहले जम्मा नगरेर हिनामिना गरेको भेटिएको छ ।

शाखा प्रबन्धक गौतमले यी बाहेक अन्य धेरै बचतकर्ता र सरकारी निकायको रकम समेत दुरुपयोग गरी करोडौ हिनामिना गरेको बताएका छन् । बढी मात्रामा स्थानीय तहको नाममा आएको रकम दुरुपयोग भएको बैंकको भनाइ छ । रकम निकालेको आरोप लागेका कर्मचारी शाह अहिले बैंकको सम्पर्कमा नरहेको बताइन्छ । शाहले उपचारका लागि भन्दै एक हप्ता पहिला बिदाका लागि निवेदन दिएको तर स्विकृत नभएको शाखा प्रबन्धक गौतमले जानकारी दिएका छन् । यस प्रकरणको छानबिन गरेर आवश्यक कारबाहिको प्रक्रियामा जाने बैंकको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७