प्रहरी बढुवामा परिवारवाद हावी


२० जेष्ठ २०७५, आईतवार
police 2

काठमाडौं, २० जेठ । नेपाल प्रहरीको इन्सपेक्टर र डिएसपीको बढुवा सिफारिसमा वरियता मिचिएको स्वयम् प्रहरी अधिकारीहरुले गुनासो गरेका छन् । police 2

उनीहरुले पछिल्लो समय प्रहरी संगठनमा भएका बुढवा सिफारिसमा परिवारवाद हावी भइरहेको समेत आरोप लगाएका छन् ।
प्रहरी प्रधान कार्यालयले गठन गरेको बढुवा समितिको सचिवालयले शनिबार राति प्रकाशित गरेको प्रहरी उपरीक्षहरुको बढुवामा पनि सिफारिसयोग्य उम्मेद्वारलाई पछाडि हटाएर अयोग्य उम्मेद्वारलाई अगाडि ल्याइएको प्रहरी अधिकारीहरुले गुनासो गरेका छन् । उनीहरुले यो वढुवामा बरियता मिचिएको आरोप लगाएका छन् ।

प्रहरी मुख्यालयले गरेको डिएसपीबाट एसपी बढुवामा १ नम्बरमा रहेकी गंगा पन्तलाई १५ नम्बरमा पु¥याइएको छ भने ३३ नम्बरमा रहेका डिएसपी अच्युतमप्रसाद पुडासैनीलाई १ नम्बरमा तानिएको छ । डिएसपी पुडासैनी बढुवा समितिका अध्यक्ष समेत रहेका गृह मन्त्रालयका सहसचिव हरि पुडासैनीका भाइ रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस्तै डिसपीमा वरियतामा ३८ नम्बरमा रहेका प्रतापकुमार गुरुङलाई दोस्रो नम्बरमा बढुवा सिफारिस गरिएको छ । बढुवामा डिएसपी सानुराम भट्टराईले पनि प्रगति गरेका छन् । उनी १५ नम्बरबाट एकै पटक चार नम्बरमा बढुवा सिफारिस भएका छन् । प्रहरीमा काम गर्ने अधिकृतका रुपमा चिनिएका सोमेन्द्रसिंह राठौरलाई समेत बढुवामा पछि पारिएको स्रोतको दावी छ । डिएसपीको वरियतामा चार नम्बरमा रहेका राठौरलाई ९ नम्बरमा पुर्‍याइएको छ ।

नेपाल प्रहरीको मुख्यालयले शनिबार साँझ नै गरेको ५५ डिएसपीको बढुवामा समेत वरियता मिचिएको पाइएकोछ । इन्सपेक्टरको वरियतामा १ नम्बरमा रहेका रेवतीरमण पोखरेललाई ३५ नम्बरमा पुर्‍याइएको छ । तीन नम्बरमा रहेका इन्सपेक्टर रोशन खड्कालाई ५० नम्बरमा पु¥याइएको स्रोतले जानकारी दिएको छ । खड्का अपराध महाशाखामा कार्यरत छन् ।

बढुवामा अन्य धेरै अधिकृतको वरियता तल–माथि पारिएको स्रोताको दावी छ । वरियता र कार्यदक्षताको आधारमा बढुवा हुनुपर्नेमा बढुवामा राजनीतिक दबाव र नातावाद हावी भएको भन्दै योग्य अधिकृतहरुले बढुवा सिफारिसमा असन्तुष्टि जनाएका छन् । उनीहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफू वरियताका आधारमा प्रहरी महानिरीक्षक बनेको तर, बढुवामा अन्याय हुँदा समेत चुप लागेर बसेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७