पत्रकार महासंघको इतिहास : सत्यको चिहानमा भ्रमको पहाड


२८ माघ २०८०, आईतवार
Rajesh Rai

‘नेपालनिरूपण’ पुस्तकमा ‘इतिहास लेख्ने परम्परा र नेपालवृत्त’ शीर्षकको आलेखमा इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्, ‘इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको विवेचनागरी भएको कुरा लेखेको शास्त्र इतिहासका नामले पुकारिन्छ । चीनमा सच्चा इतिहास लेख्ने पढ्ने पढाउने परम्परा जोगाइ अटुटरूपले चलाइराख्न ठूलो संघर्ष गर्नुपरेको थियो । यसका लागि कतिपय सच्चा विद्वानले आत्मबलिदान पनि गरेका थिए ।’

इतिहासकार नेपालले भनेजस्तै ‘इतिहास भएको कुरा’ हो । अर्थात् विगतको जस्ताकोतस्तै चित्र इतिहास हो । अमेरिकी उपन्यासकार पर्ल एस बक भन्छन्, ‘यदि तिमिलाई आज बुझ्न मन छ भने तिमिले तिम्रो हिजो खोज्नुपर्छ ।’ पर्ल एस बकले भनेजस्तै हाम्रो आज हिजोको विरासतमा उभिएको हुन्छ । हिजो नबुझी आजलाई जान्न सकिन्न । खासगरी चीन र पश्चिमा इतिहासकारहरु ‘इतिहासलाई हिजोको जस्ताकोतस्तै चित्र’ को रुपमा प्रस्तुत गर्नुपर्ने मत राख्छन् । तर हामीकहाँ ‘इतिहास जित्नेहरुको हुन्छ’ भन्ने भाष्य निर्माण मात्रै गरिएको छैन, इतिहास पनि त्यसैगरी लेखिने परम्परा निर्माण गरिएको छ ।

सबै तथ्यहरुले भन्छ, ‘नेपाल पत्रकार संघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ ।’ हाम्रो विश्वविद्यालयमा यहीँ पढाइन्छ । हाम्रा विश्वविद्यालयका प्रोफेसर र अध्यताहरु त्यही भनिरहेका छन् । हामीकहाँ उपलब्ध पुस्तक र जर्नलहरु त्यही भन्छ । खाली नेपाल पत्रकार महासंघ मात्रै भनिरहेको छ, ‘कृष्णप्रसाद भट्टराई संस्थापक सभापति ।’

यो यर्थाथलाई हेर्न धेरै खोजबिनको जरुरी नै छैन । आफूलाई समाजको ऐनाको दाबी गर्ने पत्रकारको साझा संगठन नेपाल पत्रकार महासंघको इतिहास र अभ्यासलाई हेरे पुग्छ । हाम्रो इतिहासको सबै तथ्यहरुले भन्छ, ‘हालको नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ हुन् ।’ नेपाल पत्रकार महासंघको अभिलेख र अभ्यासमा भनिन्छ, ‘नेपाल पत्रकार महासंघको संस्थापक सभापति नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई हुन् ।’

संघको स्थापना र इतिहास
इतिहास स्पष्ट छ, वि.सं. २००८ साल जेठमा नेपाल पत्रकार संघ नामक पत्रकारको संगठन स्थापना भयो (आचार्य, २०७३, पृष्ठ १०२) । संघको सभापति सत्यनारायणबहादुर श्रेष्ठ र सेक्रेटरी भोजबहादुरसिंह न्यौपाने चुनिए (देवकोटा, २०५१, पृष्ठ १३८) । एक वर्षपछि २००९ वैशाख २८ गते संघको दोस्रो सभा भयो । सो सभाले पुनः श्रेष्ठलाई नै सभापति बनाएर कार्यसमितिलाई पूर्णता दियो ।

Satya Bahadur Shrestha

जसअनुसार उपसभापतिमा प्रेमराज शर्मा (गोरखापत्र), सचिव भोजबहादुरसिंह न्यौपाने (तरंग), सहसचिव रामहरि जोशी (नेपाल पुकार), कोषाध्यक्ष रामराज शर्मा (नेपाल पुकार), सदस्य नारायणप्रसाद उपाध्याय (युगवाणी), देवेन्द्रराज शर्मा, भीमभक्त जोशी (उद्योग), प्रकाशचन्द्र टण्डन (पीटीआई.) थिए । संघमा त्यतिबेला साधारण सदस्यको रुपमा लवबहादुर कपिल, रघुनाथप्रसाद गुप्ता, राजेन्द्रकुमार, देवबहादुर न्यौपाने, राधाकृष्ण भट्टराई, राजेश्वर देवकोटा, गोविन्दभक्त जोशी, आशाराम शाक्य, रुद्रलाल मुलमी, हरिश्चन्द्र, कुन्तीदेवी, पूर्णकाजी थिए ।

संघको उद्देश्य नेपालका पत्रकारहरु तथा नेपाल बाहिरको नेपाली पत्रकारका संगठनगरी उनीहरुको हितरक्षाका निम्ती पैरवी गर्ने थियो । उद्देश्यमा लेखिएको थियो, ‘नेपालका पत्रकार तथा नेपालबाहिरका नेपाली पत्रकारको संगठन गरी तिनीहरुको आवश्यक सुविधाका लागि प्रयत्नशील रहनु र नेपालीबाहिरका पत्रकारसँग सम्बन्ध स्थापित गरी नेपालका श्रमजीवी पत्रकार र समाचारको अधिकारको रक्षा गर्नु ।’

बुँदागत रुपमा संघको उद्देश्यहरु :-
१) राष्ट्रको सर्वत्तोमुखी विकास र प्रजातान्त्रिक पद्धतिलाई सुदृढ बनाउन देशमा प्रबुद्ध र उत्तरदायी जनमतको सिर्जना गरी स्वच्छ पत्रकारिताको विकासमा सहयोग प्रदान गर्नु ।
२) राष्ट्रिय हितमा धक्का नपर्नेगरी पत्रकारको हकअधिकारका लागि प्रयास गर्नु ।
३) पत्र र पत्रकारउपर समय–बेसमय आइपर्ने कष्ट निराकरणका लागि आवश्यक कदम उठाउनु ।
अर्थात् अहिले नेपाल पत्रकार महासंघ जुन उद्देश्यमा अधारित भएर क्रियाशील छ, उतिबेलाको संघको उद्देश्य पनि उही थियो । समाचारपत्रका सम्पादकीय विभागका सदस्य तथा नियमित स्तम्भ लेख्नेहरु यसको सदस्य हुने प्रवाधान राखिएको थियो ।

संघले श्रमजीवी पत्रकार र समाचारपत्रको हकहितका लागि तत्कालीन सरकारसँग विभिन्न समयमा मागपत्र राखेर धेरै सुधारको काम गरेको थियो । संघले छापाखाना र प्रकाशनसम्बन्धी ऐन २००९, पत्रिकाको हुलाकको व्यवस्था सम्बन्धी नियममा सुधारका लागि अगुवाई गरेको थियो । सरकारले २००९ सालमा छापाखाना र प्रकाशनसम्बन्धी ऐन २००९ जारी गरेपछि उक्त ऐन श्रमजीवी पत्रकार र पत्रिकाहरुको प्रतिकुल रहेको निचोडसहित २००९ साल साउन २३ गते तत्कालीन गृहमन्त्रालयको सेक्रेटरीसँग मागपत्र बुझाएका थिए । मुख्य मागहरु निम्न थिए
१) समाचारपत्रका सम्पादकको ठेगाना हुनुपर्छ भन्ने प्रेस एक्टमा उल्लेख भएको र संसारको कुनै पनि पत्रपत्रिकामा सम्पादको ठेगाना दिइने गरिएको नदेखिएकाले सो नरहोस् ।
२) व्यंग्यचित्रलाई हाम्रो सरकारले अरु सरकारले दिएसरह नै सहुलियत देओस् ।
३) दण्ड र ६ महिना कैदको सट्टामा दण्ड अथवा ६ महिनासम्म मात्र भन्ने लेखियोस् ।
४) बिदाको दिन पर्चा अथवा अखबार छापेर तुरुन्त प्रकाशित गर्नुपरेमा दुईप्रति बुझाउने ठाउँ र त्यो बुझाएको निस्सा पाउने प्रबन्ध होस् ।
५) प्रेस एक्टको दफा २१ को स्पष्टीकरण होस् ।

Nepal history
संकलकः प्रकृति अधिकारी

सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघको केवल स्थापना मात्रै होइन । माथि उल्लेखितजस्ता श्रमजीवी पत्रकार र पत्रकारिताको हितको रक्षाको निम्ति शृंखलाबद्ध अभियान र आन्दोलन पनि चलाएको थियो । विदेशी सम्पादक तथा पत्रकारको उपस्थितिमा नेपालमा गोष्ठी र सभाहरु पनि गरिएको थियो । यतिधेरै स्पष्ट तथ्यसहितको इतिहास हाम्रो सामु भएपछि हामीले असाध्य गर्व र सजिलोगरी भन्न सक्नुपथ्र्यो, ‘नेपाल पत्रकार संघ, हालको महासंघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ हुन् ।’ तर नेपाल पत्रकार महासंघको अभिलेख र अभ्यासमा छ, ‘कृष्णप्रसाद भट्टराई ।’ त्यसको कारण हो, २०१२ चैत १६ गते भएको बैठक ।

श्रेष्ठको नेतृत्वमा गठनको नेपाल पत्रकार संघ पछिल्ला दुई वर्ष निस्क्रिय भएको थियो । संघको गतिविधि करिब शुन्य रहेकाबेला कृष्णप्रसाद भट्टराईको नेतृत्वमा संघलाई सक्रिय बनाउने काम भएको थियो । २०१२ पुस १९ गते उदयराज शास्त्रीको आमन्त्रणमा नेपाल समाचारको कार्यालयमा पत्रकारको बैठक आयोजना भएको थियो । तर सो दिन पत्रकारको उपस्थिति कम भएपछि केही ठोस निर्णय भएको थिएन ।

लगत्तै चैत १६ गते अर्को बैठक बस्यो र सो बैठकले भट्टराईको नेतृत्वमा पुनः नेपाल पत्रकार संघको पुनर्गठन ग-यो । सो समितिको उपसभापतिमा फत्तेबहादुर सिंह, मन्त्रीमा मणिराज उपाध्याय, सहायक मन्त्रीमा राम सिंह र कोषाध्यक्षमा उदयराज शास्त्री चयन भए । सदस्यमा हृदयचन्द्रसिंह प्रधान, शारदा रेग्मी र राजबहादुर मिश्र छानिए (देवकोटा, २०५१, पृष्ठ १३९) । (थापा, २०७३, पृष्ठ ९१) ।

Nepal
संकलकः प्रकृति अधिकारी

त्यही पुनर्गठनलाई लिएर कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भनेर गलत दाबी प्रस्तुत गरिएको हो । त्यसको मुख्य कारण हो, कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसका नेता थिए । २०१२ सालदेखि २०७१ सालसम्म यसको नेतृत्व कांग्रेस निकट पत्रकारले गरे । देशको प्रधानमन्त्री भएका सन्त नेता कृष्णप्रसाद भट्टराईप्रति कांग्रेसमा आस्था राख्ने पत्रकारको आस्था रहनु स्वाभाविक हो । तर आफ्नो नेताको सम्मानको नाममा इतिहासको गलत व्याख्या र बेइमानीपूर्ण दाबी बिडम्बनापूर्ण हो ।

कृष्णप्रसाद भट्टराईको अपमान
नेपाल पत्रकार महासंघको संस्थापक सभापति कृष्णप्रसाद भट्टराई नै हुन् भनेर गलत दाबी प्रस्तुत गर्नेलाई लाग्दो हो, ‘हामीले कृष्णप्रसाद भट्टराईप्रति सम्मान गरिरहेका छौं ।’ समर्पण, निष्ठा, त्याग र सादगीजीवन बिताएका बेदाग नेता भट्टराई सबैका लागि उत्तिकै सम्मानित नेता हो । २०१५ सालमा ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसदको सभामुख बनेका भट्टराईले २०४६ सालमा पञ्चायत ढलेर बहुदल आएपछि अन्तरिम सरकारका प्रधानमन्त्री बनेका थिए । उनकै पालमा २०४७ सालको संविधान बन्यो, जसले नेपाललाई नयाँ युगमा हिडायो । उनै सम्मानित नेताको नाम यो बहसमा नचाहेर पनि लिनुपर्ने हुन्छ । इतिहासमाथिको गलत व्याख्या गरेर उनको गलत स्थान दाबी गर्नेहरुको कारण कहिलेकाही त उनीमाथि नै अनास्था हुनेसम्मको अवस्था सिर्जना भएको छ । जुन बिडम्बनापूर्ण छ ।

यहाँनिर दाबी गरिन्छ, ‘कृष्णप्रसाद भट्टराईले पुनर्गठन गरेका होइनन् । गठन गरेका हुन् ।’ पत्रकारको नाममा त्यसअघि संघ गठन भएको छ, श्रमजीवी पत्रकारको हितरक्षाको निम्ति अनेकन संस्थागत अभियान र आन्दोलन भएको छ । अन्तर्राष्ट्रिय संघ संस्था र पत्रकारसँग सहकार्य भएको छ । अनि ती सबै तथ्यलाई अनदेखा गरेर ‘कृष्णप्रसाद भट्टराईले स्थापना गरेको नेपाल पत्रकार संघ पत्रकारको पहिलो संगठन हो । उनी पत्रकारको संगठनको संस्थापक सभापति हुन्’ भनेर दाबी गर्नु इतिहासमाथिको आक्रमण र अपमान बाहेक अरु के हुन सक्छ ?
कृष्णप्रसाद भट्टराई कांग्रेसको नेता थिए, भेलै पछि कांग्रेस परित्याग गरेको घोषणा गरेका थिए । पत्रकार संघ र महासंघमा नेपाली कांग्रेस निकटका पत्रकार नेतृत्वमा आए । कांग्रेसले पटक पटक सत्ताको बागडोर सम्हाल्यो । अर्थात् नेपाली सत्ताको मुलधार र पत्रकार संघ र महासंघको सत्ताको मुलधारमा सधैं कांग्रेस रहँदैआयो । त्यसैको बलमा कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापतिको रुपमा प्रस्तुत गरिनु इतिहासमाथिको जालसाजीबाहेक अरु केही होइन ।

यहाँनिर एउटा तर्क गरौं, २०५३ जेठ २८ र २९ गते धरानमा आयोजित वार्षिक साधारणसभाले नेपाल पत्रकार संघको नयाँ विधान अनुमोदनगरी नेपाल पत्रकार संघलाई महासंघ बनायो । २०५२ बैशाख १६ गते झापामा सम्पन्न १७ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हरिहर विरही सभापति र महासचिवमा चन्द्र भण्डारीको नेतृत्वले महासंघ बनेको हो । २०५४ भदौ ३० गते १८ औै महाधिवेशनले नेपाल पत्रकार महासंघको सभापतिमा किशोर नेपाल र महासचिवमा सुरेश आचार्यलाई निर्वाचित ग-यो । महासंघीय ढाँचामा रूपान्तरण पश्चात्को महाधिवेशनले निर्वाचित गरेको यो पहिलो नेतृत्व थियो । अब महासंघको पहिलो सभापति किशोर नेपाल हो ? भनेर दाबी पेश गरौं कि त ।

अब के गर्ने
श्रमजीवी पत्रकारको अगुवा संगठन प्रेस चौतारी नेपालले सधैं भन्दैआएको छ, र दृढ छ ‘संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ हो ।’ कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक सभापति स्थापित गर्नेगरी कांग्रेस नेतृत्वको सरकारले पटक पटक कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठान गठनको प्रस्ताव ल्याएको बेला प्रेस चौतारी नेपालले अबरोध गर्दैआएको छ । स्वाभाविक रुपमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले यो आन्दोलनको नेतृत्व गर्दैआएको छ ।

यी आन्दोलन, अभियान र दबाबकोबीच पनि नेपाल पत्रकार महासंघको नेतृत्व इतिहास सच्याउन तयार भएको देखिँदैन । तसर्थ फोनिजले कर्मकाण्डी आन्दोलन वा अभियान होइन कृष्णप्रसाद भट्टराईको सम्मान र सत्यनारायणबहादुर श्रेष्ठको न्यायका लागि निर्णायक आन्दोलन सञ्चालन गर्न आबश्यक छ । इतिहासकार ज्ञानमणि नेपालले उल्लेख गरेअनुसार चीनमा सच्चा इतिहास लेख्ने पढ्ने पढाउने परम्परा जोगाइ अटुटरूपले चलाइराख्न सच्चा विद्वानले आत्मबलिदान पनि गरेका थिए । ठिक त्यसैगरी नेपाल पत्रकार महासंघको सच्चा इतिहास पढ्ने, पढाउनका लागि केही सच्चा बिद्वानहरु आत्मबलिदान गर्न तयार हुनुपर्छ ।

सबै तथ्यहरुले भन्छ, ‘नेपाल पत्रकार संघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ ।’ हाम्रो विश्वविद्यालयमा पढाइन्छ, ‘नेपाल पत्रकार संघको संस्थापक सभापति सत्यनारायणबहादुर श्रेष्ठ हो ।’ हाम्रा विश्वविद्यालयका प्रोफेसर र अध्यताहरु भन्छन्, ‘नेपाल पत्रकार संघको स्थापना सत्यनारायणबहादुर श्रेष्ठले गरेका हुन् ।’ हामीकहाँ उपलब्ध पुस्तक र जर्नलहरु यही भन्छ । खाली नेपाल पत्रकार महासंघ मात्रै भनिरहेको छ, ‘कृष्णप्रसाद भट्टराई संस्थापक सभापति ।’ यी सबै तथ्यलाई अनदेखा गरेर महासंघले मात्रै किन गलत अभिलेखलाई वैद्यता दिएर बेइमानीपूर्ण अभ्यास गरिरहेको छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७