किन च्यातियो पत्रकार महासंघको ‘अग्र अनुहार’ ?


२०८० माघ २८ आइतबार १७:०२ बजे

काठमाडौं : संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा विवाद भएको छ । प्रतिष्ठान समितिले प्रकाशित गरेको ‘अग्र अनुहार’ पुस्तकमा इतिहास मेटाउने प्रयास भएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विमोचनमा अबरोध गरेको हो ।

पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघले विरोध गरेको महासंघका उपाध्यक्ष अमरध्वज लामाले बताए । संघ आबद्ध पत्रकाररूले विमोचन समारोह बिथोल्नुका साथै पुस्तकसमेत च्यातेका छन् । पुस्तक च्यातिएपछि कार्यक्रमस्थल तनावग्रस्त भएको थियो ।

महासंघले प्रकाशन गरेको पुस्तकमा संस्थापक कृष्णप्रसाद भट्टराईलाई मानिएको छ । उनीलगायत अन्य अध्यक्षको संक्षिप्त जीवनी उल्लेख गरेको छ । तर त्यसमा सत्यनारायण बहादुर श्रेष्ठको बारेमा केही उल्लेख छैन ।

२००८ वैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठ महासंघ (तत्कालीन पत्रकार संघ) को अध्यक्ष भएका थिए । तर महासंघले प्रकाशन गरेको पुस्तकमा त्यसको कुनै पनि चर्चा नरहेका कारण आफूहरूले कार्यक्रम अवरुद्ध गर्नुको साथै पुस्तक पनि च्यातेको लामाको भनाई छ ।

नेपाल पत्रकार महासंघले २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएपछि आफूहरूले विरोध जनाएको अबरोधपछि महासचिव मिलन लिम्बूले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समिति काठमाडौंले आज तय गरेको ‘अग्र अनुहार’ पुस्तकको लोकार्पण कार्यक्रममा सभामुख देवराज घिमिरे र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको थियो । फोनिजले ‘अग्र अनुहार’ पुस्तकको विरोध गरेपछि सभामुख घिमिरे र मन्त्री शर्मा कार्यक्रममा उपस्थित भएनन् । महासचिव लिम्बूले शनिबार विज्ञप्ति जार गरेर कार्यक्रम स्थगनको माग गरेका थिए ।

भनेका थिए, ‘नेपाली पत्रकारिताका धरोहरका रूपमा यसरी पूर्वजहरुको सम्मान गरिनु र गाथा निर्माण गरिनु आफैमा प्रशंसायोग्य कुरा हो । हामी यस कार्यलाई उच्च सम्मान गर्दछौं । तर, नेपाली पत्रकारिताको इतिहासमा यति गहकिलो कार्य हुँदै गर्दा नेपाल पत्रकार संघका संस्थापक सभापति श्रेष्ठको जीवनी समावेश नहुनु, उहाँको योगदानलाई अबमूल्यन गरिनु, उहाँका बारेमा पुस्तकमा कतै केही उल्लेख नहुनु जस्ता कार्यले गम्भीर संशय पैदा गरेको छ ।’

किन च्यातियो ?

महासचिव लिम्बुले शनिबार जारी गरेको विज्ञप्ति :

नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट छ । नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । यो तथ्यलाई नामेट पार्नु भनेको उहाँको योगदानको अवमूल्यन गर्नु हो । इतिहासलाई नामेट पारेर नेपाल पत्रकार महासङ्घ नेपाली पत्रकारहरुको साझा र नेतृत्व संस्था हुन सक्दैन । तर, नेपाल पत्रकार महासङ्घले यस तथ्यलाई नजरअन्दाज गर्दै आएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले यो विषय नेपाल पत्रकार महासङ्घलाई अवगत गराइसक्दा पनि गम्भीरतापूर्वक लिएको छैन । महासङ्घ यसरी इतिहास नामेट पार्दै अगाडि बढ्दा गत साल फोनिजले महासङ्घको सबै संरचनाहरुमार्फत इतिहास सच्याउन र आगामी दिनमा संस्थापकको विषय टुङ्गो नलागेसम्म यस सम्बन्धि कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो । तर, सोही गलत तथ्यलाई नै स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन गर्नेलगायतका गतिविधि अगाडि बढाएको विभिन्न सञ्चारमाध्यमबाट जानकारी प्राप्त भएको छ । गलत तथ्यलाई नै निरन्तरता दिने महासङ्घको कदमप्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासङ्घको प्रतिष्ठान प्रदेशले पत्रकार महासङ्घका अध्यक्षहरुको जीवनी समावेश गरेर ‘अग्र अनुहार’ नामक पुस्तक प्रकाशन गर्न लागेको जानकारी प्राप्त भएको छ । सो पुस्तकमा गलत तथ्यकै आधारमा संस्थापक अध्यक्षको विषय समावेश गरिएको छ । हामी यसै विज्ञप्तिमार्फत सो प्रकाशन रोक्न जोडदार माग गर्दछौं । सो पुस्तक प्रकाशन हुँदा पत्रकार महासङ्घको इतिहास र गरिमामा गम्भीर प्रश्न उठ्ने हाम्रो ठहर छ ।

नेपाली पत्रकारिताका धरोहरका रूपमा यसरी पूर्वजहरुको सम्मान गरिनु र गाथा निर्माण गरिनु आफैमा प्रशंसायोग्य कुरा हो । हामी यस कार्यलाई उच्च सम्मान गर्दछौं । तर, नेपाली पत्रकारिताको इतिहासमा यति गहकिलो कार्य हुँदै गर्दा नेपाल पत्रकार संघका संस्थापक सभापति श्रेष्ठको जीवनी समावेश नहुनु, उहाँको योगदानलाई अबमूल्यन गरिनु, उहाँका बारेमा पुस्तकमा कतै केही उल्लेख नहुनु जस्ता कार्यले गम्भीर संशय पैदा गरेको छ ।

हामी आग्रह गर्दछौं, प्रतिष्ठान प्रदेशको सो प्रकाशन तत्काल रोकियोस् । साथै, संस्थापक अध्यक्षको विषय यथाशीघ्र टुङ्गो लगाई गलत इतिहास सच्याइयोस् । यदि, अब पनि गलत इतिहासलाई नै प्रश्रय दिने कार्य भएमा फोनिज महासङ्घको यस्तो गलत दुस्साहसविरुद्ध देशव्यापी आन्दोलनमा जान वाध्य हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७