बुद्धको अस्थिधातु समाधिस्थल लिज प्रकरण : सबै सम्झौता खारेज गर्न लेखा समितिको निर्देशन

अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन


२८ माघ २०८०, आईतवार
Ramgaram
२६ मंसिर २०८० मा लिजमा पाएको कम्पनी द प्रमिस्ड ल्यान्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायत

काठमाडौं : सार्वजनिक लेखा समितिले लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा गरेका सबै सम्झौता खारेज गर्न निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले सबै सम्झौता खारेज गर्न निर्देशन दिएको हो ।

लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिनाप्रतिस्पर्धा ‘द प्रमिस ल्यान्ड’ नामक निजी कम्पनीसँग समझदारी गरेको थियो । सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी भएको हो । समिति सभापति ऋषिकेश पोखरेलले लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा गरिएका सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन

Rishi kesh pokheral
सभापति ऋषिकेश पोखरेल

नेपाल सरकारको स्वीकृती समेत नलिई समझदारी गर्न हतारिनुले गम्भिर आशंका उत्पन्न गरेकोले उल्लेख गर्दै समितिले यस्तो कार्य गर्न उद्वत रहनुको पछाडिको कारण अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुग्न समितिको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्न पनि निर्देशन दिएको छ ।

‘राज्य धर्म निरपेक्ष हुनु भनेको आम नागरिकको आस्थामाथी अतिक्रमण गर्न पाउनु होइन । स्थानीय बासिन्दाको ११६ विघा जग्गा अधिग्रहण गर्ने भनिएको (लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ४ ले कोषले व्यक्ति सरह सम्पत्तीको कारोवार गर्न सक्ने देखिएता पनि कोषका उपाध्यक्षले सम्झौता वा समझदारी गर्न सक्ने कानूनी व्यवस्था देखिँदैन), त्यसैगरी अर्थ मन्त्रालयले यस सम्बन्धमा मोडालिटी के हुने, सम्बन्धित संस्थाको विश्वसनियता, सामर्थ्य तथा पुँजीगत क्षमता लगायतका विषयमा प्रश्न उठाएको, प्राचिन स्मारक ऐन, २०१३ ले पुरातात्विक स्मारक र पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण र उत्खनन् गर्न सक्ने अधिकार पुरातत्व विभागलाई मात्र दिएको अवस्थामा उक्त कानूनको प्रतिकूल हुने गरी कुनै एक निजी संस्थाले गर्ने आवधारणामा समझदारी हुनु भित्र सुनियोजित दुराशय छैन भन्न सक्ने अवस्था देखिँदैन, साथै कुनै एक संस्थाको व्यापारिक अवधारणा कार्यान्वयनका लागि राज्यले नागरिकको विधाका विघा जग्गा अधिग्रहण गरी ९९ वर्षको लागि सुम्पनु पर्ने, अझ जग्गा कोषको स्वामित्वमा नआँउदै वा सो सम्बन्धमा कुनै कार्य प्रारम्भ नै नभएको सन्दर्भमा र नेपाल सरकारको स्वीकृती समेत नलिई समझदारी गर्न हतारिनुले गम्भिर आशंका उत्पन्न गरेकोले यस्तो कार्य गर्न उद्वत रहनुको पछाडिको कारण अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’ समितिको निर्णयमा छ ।

सम्पदा स्थलमा कुनै पनि किसिमको भौतिक संरचना निर्माण गर्नुपर्दा युनेस्कोबाट निर्धारित मापदण्ड र पुरातत्व विभागसँग समेत अनिवार्य समन्वयको लागि सरकारको ध्यानाकर्षण पनि बैठकले गरेको छ । निर्णयमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघीय शैक्षिक, सामाजिक र सांस्कृतिक संगठन ९युनेस्को० र पुरातत्व विभागसँग समन्वय हुन नसकेको कारणबाट अद्वितीय विश्वव्यापी महत्त्वलाई जोगाउनका लागि गरेको प्रयास उपयुक्त नभएमा सम्भावित खतराको सूचीमा किन नराख्नेु भनी पटकपटक पत्राचार गरी स्पष्टीकरण माग गरेको भन्ने सुनिन आएको छ ।’


के हो लिज प्रकरण ?
२६ मंसिर २०८०मा बुद्धको जन्मस्थल लुम्बीनिकोको पवित्र स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपमा तामझाम सहित भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती, भारतीय सत्तारुढ दल भाजपाका सांसद राम माधव, पतञ्जली योग पिठ भारतका अध्यक्ष आचार्य बालकृष्ण लगायत उपस्थीत थिए । भारतीय उच्च अधिकारी सहित विभिन्न देशका बौद्ध धर्म गुरुहरुको उपस्थीति यो कार्यक्रमको आयोजक थियो, लुम्बिनी विकास कोष, रामग्राम नगरपालिका र ‘द प्रमिस ल्यान्ड’ नामक संस्था ।

लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकालाई आयोजक राखिए पनि यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको थियो, ‘द प्रमिस ल्यान्ड’ नामक संस्थाले । कोषका लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य लगायत उपस्थीत भए पनि यो कार्यक्रमको प्रमुख डिजाइनर लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र ‘द प्रमिस ल्यान्ड’ नामक निजी कम्पनीका अध्यक्ष निकेश अधिकारी ।

निकेश अधिकारी प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको घरबेटी निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक शारदाप्रसाद अधिकारीका छोरा हुन् । यति भव्य कार्यक्रम अधिकारीले त्यसै गरेका होइनन् । भगवान गौतम बुद्धसँग जोडिएको महत्वपूर्ण पवित्र स्थल मध्येका एक रामग्राम क्षेत्र ९९ वर्षका लागि लिजमा प्राप्त गरेपछिको यो पहिलो कार्यक्रम हो ।

पुरातत्वविद्हरुका अनुसार बुद्धको महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा रहेको स्तुपा हो । त्यस कारण रामग्राम स्तुप बुद्धको जीवनको निकै महत्वपूर्ण स्थल मानिन्छ । यो पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा पर्छ । यो स्तुपमामा भगवान गौतम बुद्धको अष्टधातु रहेको मानिन्छ । रामग्राम ऐतिहासिक, पुरातात्विक तथा पवित्र धार्मिक स्थल मानिन्छ । ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको १ सय १६ बिघा जग्गा समेटेको छ ।

रामग्राम क्षेत्रका स्थानीयको करिब १ सय १६ बिघा अधिग्रहण, कोषकै नाममा रहेको ७५ कट्ठा र पुरातत्त्व विभागको १० कट्ठालाई एकीकृत गरेर आउने करिब १ सय २० बिघा जमिन निजी कम्पनी ‘द प्रमिस्ड ल्यान्ड’ लाई बिनाप्रतिस्पर्धा ९९ वर्ष लिजमा सुम्पिन कोषले २०८० असोज २९ मा द्विपक्षीय समझदारी (एमओयू) गरेको थियो । कात्तिक १३ मा थप बुँदा समेटेर कोषले प्रमिस्डसँग पूरक एमओयू गरेको हो  ।

कोष र ‘द प्रमिस ल्यान्ड’ विचको सम्झौतामा ‘म्युजियम, प्राथना हल सहितको स्तुपामा व्यापारिक संरचना समेत बनाइने उल्लेख छ । उक्त स्तुपामा जाने तिर्थयात्री तथा पर्यटकहरु बापतको शुल्क, व्यापारिक संरचना भाडामा लगाउनेदेखि सम्पूर्ण व्यापारिक कामको जिम्मा ‘द प्रमिस ल्यान्ड’लाई दिइएको छ । यसैगरी लुम्बिनी विकास कोषले दानभेटीमा समेत निजी कम्पनी द प्रमिस्ड ल्यान्ड हक लाग्ने प्रावधान राखिएको छ ।

यसरी गरिदैछ पवित्र तिर्थस्थलमा घिन लाग्दो खेल

Ramgaram Lumbini
चन्दाको अपिल सहित मोक्ष फाउन्डेशनले राखेको तस्बिर


बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण पछि (इ.पू. ४८३) पछि बुद्धको अस्थिधातु आठ भाग लगाई मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वेठदीप, पावा र कुशीनगरलाई दिइएको थियो । सोही अस्थिधातु निदान गरी आ–आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर, अस्थिहरू यसरी विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।

सोही अस्थिधातु निदान गरी आ–आफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो । तर, अस्थिहरू यसरी विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थविरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ ।

सन् १८९६ मा लुम्बिनी पत्ता लागेपछि सो स्थल हेर्न पुगेका पुरातत्वविद् डा. ह्वेले यताउता अन्यत्र पनि अवलोकन गर्ने क्रममा नवलपरासी जिल्लाको उज्जैनीमा ५० फिट अग्लो एउटा माटोको ढिस्को देखेका थिए । त्यही पवित्र ढिस्को हो, रामग्राम ।

त्यस क्षेत्रको विकास र विस्तारको लागि संसारभरीका बौद्धमार्गीहरुले पटक पटक लुम्बिनी विकास कोष र नेपाल सरकारलाई सहयोगको प्रस्ताव राखेका थिए । लुम्बिनी विकास कोष र नेपाल सरकारले पहल गर्दा तुरुन्तै अरबौं संकलन हुने अवस्था थियो ।
किनभने महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको रामग्रामको मात्रै अस्तिवत्वमा छ । यो बौद्धमार्गीहरुको लागि असाध्यै ऐतिहासिक र पवित्र थलो हो । यही पवित्र थलोलाई नजिकिरण गरेर अरबौं कमाउने उद्देश्य सहित ‘द प्रमिस ल्यान्ड’ले भाडामा लिएको हो ।

स्रोतका अनुसार यो प्रस्ताव कोषका पूर्व उपाध्यक्ष भिक्षु मेत्तेय (अबधेश त्रिपाठी)को पालादेखि नै अघि बढेको हो । तर सम्झौता भने पूर्व राज्यमन्त्री विवादित लामा डा. ल्हारक्याल लामा (खेन्पो छिमे) उपाध्यक्ष भएपछि भएको हो । स्रोतका अनुसार यो रामग्रामबाट कसरी लाभ लिन सकिन्छ ? भन्ने वृस्तीत प्रस्ताव सुनाएपछि प्रधानमन्त्री प्रचण्डले डा.लामालाई उपाध्यक्ष बनाएका हुन् । स्रोतका अनुसार ल्हारक्याल लामाले चन्दा मार्फत १५ अर्ब संकलन गरेर निर्माण गर्ने प्रस्ताव प्रधानमन्त्रीलाई सुनाएका छन्।

स्रोतका अनुसार ‘द प्रमिस ल्यान्ड’का अधिकारी र ल्हारक्याल लामाले यसमा दोहोरो फाइदा हुने बताएका छन् । महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको अतिस्त्वमा रहेको एक मात्रै स्तुपा रामग्रामको लागि संसारभरीका बौद्धमार्गीहरुबाट चन्दा मार्फत लगानी जुटाउने उनीहरुको योजना रहेको छ । यस अर्थ उनीहरुले निर्माणको लागि सम्पूर्ण खर्च धार्मिक चन्दा मार्फत उठाउनेछन् । त्यही चन्दा मार्फत बनाएको संरचनामा ९९ बर्ष व्यापार गर्ने उनीहरुको योजना बनाएका छन् । मन्त्रालयको एक उच्च अधिकारी भन्छन्, ‘यो धेरै खतरनाक खेल हो ।’

यसरी धमाधम पैसा उठाइन्दैछ
२६ मंसिर २०८० बृहत्तर विकास परियोजना घोषणा कार्यक्रम बढो तामझाम पूर्ण थियो । कार्यक्रमको उद्घोषक थिए, सञ्चारकर्मी भुषण दाहाल । प्रधानमन्त्री प्रचण्डको मन्तव्यमा भनेका थिए ‘मानिसहरुले विभिन्न अर्थ लगाउन सक्छन् तर रामग्राम स्तुपको अगाडि उभिएर देशबाहिर र भित्रपनि बुद्धको उपदेशलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने दृढता व्यक्त गर्न चाहन्छु ।’

Ramgaram 2
हेर्नुहोस् मोक्ष फाउन्डेशनले अपिल गरेको चन्दा

प्रधानमन्त्रीले यसो भनिरहँदा यो कार्यक्रम अघि नै चन्दा मार्फत १० करोड बढी उठाइएको पैसा बारेमा उनी जानकार थिए की थिएनन् ? स्रोतका अनुसार यो कार्यक्रम अगावै बौद्ध समुदायमा ल्हारक्याल र अधिकारीले चन्दा अभियान चलाएका थिए । उनीहरुलाई साथ दिएका थिए, सिङ्गापुरका एक व्यापारी जेम्स सेङले । आफुलाई चिनियाँ राष्ट्रपति सि जिनफिङ निकट भनेर दाबी गर्ने यी सिङ्गापुरका व्यापारीले यही रामग्राममा संरचना निर्माण गर्ने भनेर मोक्ष फाउन्डेशन नामक संस्था बनाएका छन् ।

हेर्नुहोस् चन्दा अपिल गरिएका लिंकहरु :

https://donorbox.org/ramagrama-stupa

उक्त मोक्ष फाउन्डेशनको वेवसाइड बनाएर रामग्राम क्षेत्रको संरचनाको डिजाइनहरु राखेर चन्दाको अपिल गरेका छन् । स्रोतका अनुसार ल्हारक्याल, ‘द प्रमिस ल्यान्ड’का अध्यक्ष अधिकारी र चिनियाँ राष्ट्रपति सि निकट हुँ भनेर दाबी गर्ने जेम्स सेङले २६ मंसिर २०८० को कार्यक्रम लागि मात्रै १० करोड बढी चन्दा उठाएका थिए ।

विभिन्न भाषामा अनुवाद गरेर विभिन्न रिपोन्छे गुरुहरुलाई पठाइएको चन्दा अपिल सहितको पत्र जनआस्थासँग सुरिक्षत छ । जेम्स सेङ मोक्षा फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उनीहरुले अहिले संसारभरीका बौद्ध धर्म गुरु, यससँग सम्बन्धित देशका अधिकारीहरुलाई महापरिनिर्माण भएपछि ८ भागमा विभाजन गरिएका स्तुपा मध्येको अतिस्त्वमा रहेको एक मात्रै स्तुपा रामग्रामको संरचना निर्माण भन्दै चन्दा उठाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७