अष्ट्रेलियालाई यु-१९ विश्वकपको उपाधि


२०८० माघ २९ सोमबार ०७:०६ बजे

काठमाडौँ l अष्ट्रेलिया चौथो पटक आईसिसी यु-१९ विश्वकपको विजेता बन्न सफल भएको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनलमा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले उपाधि जितेको हो ।
अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ चौका र १ छक्का सहित सर्वाधिक ४७ रन बनाए । यस्तै मुरुगन अभिषेकले ४६ बल खेल्दै ४२ रनको योगदान गरे ।
अष्ट्रेलियाका लागि माहली बियर्डम्यान र राफ म्याकमिलनले समान ३-३ विकेट लिए । यस्तै क्यालम भिल्डरले दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन जोडेको थियो । अष्ट्रेलियाका लागि हर्जस सिंहले ६४ बल खेल्दै ३ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग विबगेनले ६६ बल खेल्दै ५ चौकाको मद्दतमा ४८ रन जोडे ।
यस्तै ओलिभर पिकले ४३ बलमा ४६ रनको अविजित इनिङ खेले । ओपनर ह्यारी डिक्सनले ५६ बलमा ४२ रन बनाए ।
भारतका लागि राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चिदै ३ विकेट लिएका थिए । यस्तै नमन तिवारीले दुई तथा सौमी पाण्डेले १-१ विकेट लिएका थिए ।
चौथो पटक च्याम्पियन बनेको अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा उपाधि उचालेको थियो । अष्ट्रेलिया २०१२ र २०१८ मा दोस्रो स्थानमा सिमित भएको थियो । दुवै पटक भारतले उपाधि उचालेको थियो । भारत भने पाँच पटकको विजेता रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७