एसपी सरुवा : शक्तिकेन्द्रसँग निरिह प्रहरी हेडक्वाटर, गृह र बालुवाटारको अलग-अलग सूची


२९ माघ २०८०, सोमबार
IGP Nepal Police

काठमाडौं : प्रहरी नियमावली, २०७१ ले प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ । प्रहरी नियमावलीको धारा ४८ को सरुवा गर्ने अधिकारीको व्यवस्थाको (ग)मा लेखिएको छ, ‘प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरिक्षकसम्म प्रहरी नायव महानिरिक्षकले गर्ने ।’

नियमावली मान्ने हो भने एसपी सरुवाको अधिकार अहिले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई छ । आईजीपी कुँवरले कार्य सम्पादन र आबश्यकताको आधारमा एसपीहरुको सरुवा गर्न सक्छन् ।

अहिले २२ जिल्ला सहित ३३ एसपी सरुवाको समय घर्कि रहेको छ । पुरै एसपी सरुवाको अधिकार पाएका आईजीपी कुँवर अहिले यस्तो निरिह छन् की शक्तिकेन्द्रबाट आएका सूची हेर्दा एकजना पनि आफूले भने अनुसार गर्न सक्ने अवस्थामा छैनन् । आईजीपी कुँवरको सचिवालय स्रोत भन्छ, ‘शक्तिकेन्द्रको दबाब र सूचीसँग हेडक्वाटर निरिह छ ।’

आईजीपी सचिवालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागले एसपी सरुवाको लागि पटक पटक गृह मन्त्रालयसँग समन्वय गरेको छ । तर, तर एसपी सरुवाको सूची दबाब सहित बालुवाटार, गृह मन्त्रालयबाट अलग अलग पठाइएपछि प्रहरी प्रधान कार्यालय अप्ठ्यारोमा छ ।

स्रोतका अनुसार गृह मन्त्रालयका समेत अलग अलग सूची छ । सचिवालय स्रोत भन्छ, ‘गृहमन्त्रीको सिफारिस भन्दै गृहमन्त्रीको सचिवालयका कर्मचारीहरु, गृहमन्त्री निकटका शक्तिशालीबाट अलग-अलग सूची दिइन्छ । कसको आधिकारिक मान्ने हामी नै अन्योलमा छौं ।’

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालय बाहेक बालुवाटार अर्थात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयबाट अलग-अलग दबाब र सूची गएको सचिवालय स्रोतका भनाई छ । स्रोत भन्छ, ‘गृह मन्त्रालबाट अलग अलग दबाब छ, फेरि बालुवाटारबाट अर्को दबाब र अलग सूची छ ।’

प्रहरी नियमावलीले प्रहरी अधिकारीहरूको सरुवा अवधि एक वर्ष निर्धारण गरेको छ । ६ जिल्ला प्रहरी प्रमुखले कमान्ड गरेको १३ महिना पुरा भएको छ । २०७९ पुसमा सरुवा भएको झापा, पर्सा, कैलाली, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपीले कमान्ड सम्हालेको १३ महिना पूरा भएको हो ।

मोरङ, महोत्तरी, सिरहा, रुपन्देही, चितवन, बर्दिया, कञ्चनपुर, काभ्रे, धादिङ, तनहुँ, स्याङ्जा, बागलुङ, गोरखा, पाल्पा, गुल्मी र धनकुटाको एसपीले समेत कमान्ड सम्हालेको एकवर्ष पूरा भएको छ । यी जिल्लाहरूमा गत वर्षको १९ पुसबाट एसपीहरूले कमान्ड जिम्मा लिएका थिए ।

एसपीहरुलाई हेडक्वाटर होइन तस्करहरुको भरोसा

Nepal Police

विवादित व्यवसायी तेजबहादुर चन्द एक साता अघिदेखि काठमाडौंमा धर्ना कसेर बसेका छन् । कञ्चनपुर र कैलालीमा आफू निकट एपसी ल्याउने भन्दै गृहमन्त्री श्रेष्ठसँग लविङ गरिरहेका छन् । कैलाली र कञ्चनपुरमा जस्तै प्रत्येक जिल्लाका विचौलिया तस्करहरुले लविङ गरिरहेको स्रोतको भनाई छ । एक प्रहरी उच्च अधिकारी भन्छन्, ‘यसरी तस्करको लविङबाट गएका कमाण्डरले सुशासनको लागि काम गर्छ भन्नु एउटा रमाइलो मात्रै हो ।’

माथिको उदाहरण जस्तै प्रहरीको जिल्ला नेतृत्व फेरिने समय हुनु साथ तस्करहरु यसअघिदेखि नै सक्रिय हुने गरेका छन् । राजनीतिक नेतृत्व भन्दा पनि जिल्लामा विभिन्न अवैध गतिबिधिमा संग्लन हुने तस्करहरुले आर्थिक चलखेल गरेर उम्मेदवार अर्थात् कमाण्डर तयार पार्ने त्यही अनुसार लविङ गर्ने गरेका छन् । स्रोतका अनुसार तस्करहरुको दबाब र लविङबाट प्रभावित भएर सूची पठाइएपछि आईजीपी कुँवर रुष्ट छन् ।

स्रोतका अनुसार सबैभन्दा आकर्षक मानिने पर्सामा कोमल शाहको स्थानमा काठमाडौंमा रहेका एसपी कुमोद ढुंगेललाई पठाउने गृहमन्त्री श्रेष्ठको तयारी छ । यस्तै झापामा अपराध अनुसन्धान कार्यालयमा कार्यरत मिलन केसीको सम्भावना छ । स्रोतका अनुसार रुपन्देहीको एसपीका लागि दयानिधि ज्ञवाली, चक्रराज जोशी, गौतम केसी, सन्तोष खड्का, रमेश पण्डितले शक्तिकेन्द्र धाइरहेका छन् ।

चितवनका लागि शालिग्राम शर्मा पौडेल र भावेश रिमालले शक्तिकेन्द्र धाइरहेका छन् । मोरङमा बसिसकेका सन्तोष खड्का रुपन्देही नभए काभ्रेको एसपी लविङमा छन् । शान्तिराज कोइराला सिन्धुपाल्चोकको एसपी हुन दौडधुप छन् ।

बढुवा पनि प्रभावित
यसैगरी नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन् । ५ मंसिरमा पाँच एसपी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त एसपीको संख्या ७ पुगेको थियो । त्यसका लागि अघिल्लो एसपी बढुवामा छुटेका १२ जना डीएसपी प्रतिस्पर्धामा छन् ।

०६१ सालमा प्रहरी निरीक्षकबाट भर्ना भएका टोलीमध्ये अहिले बढुवाका लागि प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार र निरञ्जनदत्त भट्ट प्रतिस्पर्धामा छन् ।

राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे पनि प्रतिस्पर्धामा छन् । एसपीसम्म बढुवाको अधिकार आईजीपीलाई हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७