लौकी–काकडभित्ता सडकको परामर्शदाता छनोट प्रकरणः ठेक्का सेटिङको पोल खुलेपछि ५ करोडको लफडा


२०८० माघ २९ सोमबार ०८:१० बजे

काठमाडौं : कुनै पनि आयोजना निर्माणको ठेक्का सम्झौता हुनुअघि नै परामर्शदाता छनोट हुने गर्दछ । तर एशियाली विकास बैंकको ऋण सहयोगमा सुनसरीको लौकीदेखि झापाको काकडभित्ता सडक स्तरोन्नति ठेक्का सम्झौता भएको ४ महिना बितिसक्दा पनि परामर्शदाता छनोट हुनसकेको छैन ।

स्रोतका अनुसार सेटिङ भएको कम्पनीलाई दिनका लागि ठेक्का सम्झौता भएको ४ महिना भइसक्दा पनि परामर्शदाता छनोट गर्न बिलम्ब भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालादेखि सचिव केशवकुमार शर्माले चासो राखेपछि ठेक्का सम्झौता भएको ४ महिना बितिसक्दा पनि परामर्शदाता छनोट हुन नसकेको स्रोत बताउँछ । गएको १९ अक्टोबरमा तुँदी कन्ष्ट्रक्सन र शर्मा एण्ड कम्पनीसँग लौकी–काकडभित्ता सडकको ठेक्का सम्झौता भएको थियो ।

१ अर्ब ३० करोडको परामर्शदाता छनोटमा मन्त्री ज्वाला, सचिव शर्मा र एडीबी सडक निर्देशनालयका प्रमुख चुडाराज ढकालले रविभूषण झाको जीओकम इन्टरनेशनल प्रालि जेभीसँग सेटिङ गरी आर्थिक प्रस्तावमा उसैको नम्बर बढी दिइएको थाहा पाएपछि अरु परामर्शदाताहरुले अख्तियारदेखि एडीबीको मुख्यालयसम्म उजुरी दिएका छन् ।

एडीबी सडक निर्देशनालयका प्रमुख चुडाराज ढकाल

अख्तियारदेखि मनिलासम्म उजुरी परेपछि आयोजना प्रमुख ढकाल सेटिङ भएको कम्पनी जीओकमलाई छनोट गर्न नसक्ने भएका छन् । र, उनले एडीबी मुख्यालयमा परामर्शदाता छनोटको बिषयमा राय मागेका छन् । पछिल्ला दिनमा जीओकम, इआरएमसी जस्ता परामर्शदाताहरुले एडीबीको नेपाल कार्यालयका उच्च तहका कर्मचारीसम्म सेटिङ गरी कन्सलटेन्सी छनोटमा हस्तक्षेप गर्दैआएका छन् ।

जीओकमसँग सेटिङ गरी आर्थिक प्रस्तावको मूल्यांकनमा उही छनोट हुने थाहा पाएपछि इआरएमसी र उदय कन्सलेटन्सीका संचालक उद्धवराज चौलागाईले एक युट्युबर प्रयोग गरी एडीबी सडक निर्देशनालयका प्रमुख चुडाराज ढकालसँगको संवादको भिडियो नै खिच्न लगाएको स्रोतले बतायो ।

ढकालले परामर्शदाता छनोटको कमिसन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्मलाई बुझाउनुपर्छ भनेर बोलेको भिडियो देखाएर एक युट्युबरले ५ करोड लिएको उच्च स्रोत बताउँछ । चौलागाईले परामर्शदाता छनोट हुन नसके पनि उक्त रकम युट्युबर प्रयोग गरी फुत्काएकोे आरोप छ । स्रोतका अनुसार शाही थरका युट्युबर प्रयोग गरी ढकालले बोलेको भिडियो खिचिएको थियो । ५ करोडमा डिल मिलेपछि भिडिओ डिलिट गरिएको चर्चा भौतिक मन्त्रालयमा ब्याप्त छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै नाम समेत लिएर परामर्शदाता छनोटमा सेटिङ भएकोबारेमा एडीबी सडक निर्देशनालयका प्रमुख ढकालले भने–‘परामर्शदाता छनोटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । नपाउनेहरुले अख्तियार लगायत सबैतिर हल्ला गरेका हुन् । ५ करोडको कुरा सबै वाहियात हो ।’

ठेक्का सम्झौता भएको ४ महिनासम्म पनि कन्सलटेन्सी छनोट हुन नसकेकोबारेमा ढकालको भनाइ यस्तो छ–‘आर्थिक प्रस्ताव मूल्यांकनको चरणमा छ । आर्थिक प्रस्ताव भन्दा फरक खालका कुरा आए । आर्थिक प्रस्तावमा आएका अप्ठेराहरुका बारेमा एडीबीको मुख्यालय मनिलामा पठाइएको छ । एडीबीबाट अप्रुभल आउन ढिला भएको हो । एडीबीका कर्मचारीहरु नयाँ बर्षमा बिदामा बसेका रहेछन्, त्यही भएकाले ढिला भएको हो ।’

लौकी–काकडभित्ता सडक आयोजनाको पूर्वी खण्डको प्रमुख सुनिलबाबु पन्त हुन् भने पश्चिम खण्डको जगत प्रजापति हुन् । आयोजनाको डेपुटी डाइरेक्टर शोभा गिरी हुन् ।

९५.७६० किलोमिटर उक्त सडक ५ प्याकेजमा निर्माण हुँदैछ । ३४ अर्ब रुपैयाँको लौकी–काकडभित्ता सडकको ३४ अर्ब लागतमा २ प्रतिशत मात्रका पीसी ६८ करोड हुन आउँछ ।

परामर्शदाताको लागि १ अर्ब ३० करोड रुपैयाँको बजेटमा ४० प्रतिशत नै लाभ हुने भएपछि चर्को चलखेल भएकाले ठेक्का सम्झौता भएको ४ महिनासम्म पनि छनोटमा बिलम्ब भएको छ । ठेक्का सम्झौता भएपछि परामर्शदाता छनोट हुने प्रचलन नै छैन । तर लौकी–काकडभित्ता सडकमा कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै भएको छ ।

यसैबीच,  बिदेशी कन्सलटेन्सी नाममात्रका हुने गरेका छन् । कार्यालय समेत नभएका र कागजमा मात्र नाम राखिएका हुन्छन् । छानबिन गर्ने हो भने सबै कीर्ते साबित हुनेछन् । इफ्तिसा जस्ता कन्सलटेन्सीको बारेमा नेपाल प्रहरीको सीआईबीले छानबिन गर्ने हो भने सबै कीर्ते ठहरिने स्रोतले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७