प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो पत्र : के छ ५ बुँदे प्रतिबद्धतामा ?


२९ माघ २०८०, सोमबार
Tik Tok scaled

काठमाडौं : चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले नेपाल सरकारलाई पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्।

सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा नेपाल सरकारको मन्त्रीपरिषद्‌ बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । कम्पनीले पत्रमा नेपालका सम्पूर्ण कानूनी प्रक्रिया मान्न प्रतिबद्ध रहेको कुरा उल्लेख छ । 

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाएको छ ।

कम्पनीले कम्युनिटी गाइडलाइन पूर्ण रूपमा पालना गरेको सुनिश्चित गर्न विश्वभर ४० हजार कर्मचारी कार्यरत रहेको उल्लेख गरेको छ । यसका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको बताइएको छ । 

त्यस्तै ती कर्मचारीहरूले टिकटक प्रयोग हुने सम्बन्धित ठाउँका विभिन्न चाल चलन, संस्कृति र कानून पनि ध्यानमा राख्ने गरेको कम्पनीको भनाइ छ । विगत दुई वर्षदेखि नेपालमा आफ्नो प्लेटफर्ममा सुरक्षा सुनिश्चित गर्न कम्पनीले के गरिरहेको थियो भन्ने कुराको जानकारी यस अघिका पत्रहरूमा उल्लेख गरेको थियो । 

पाँच प्रतिबद्धता 

१. नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध छौँ 

२. यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउँछौँ 

३. टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्नेछौँ 

४. राष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्नेछौँ 

५. हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्नेछौँ 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७