आवासीय भिसाको नाममा लाहुरेका सन्तानहरुमाथि कहालीलाग्दो ठगी : एकपछि अर्को पिडितको उजुरी


१ फाल्गुन २०८०, मंगलवार
Surya Nembang scaled

काठमाडौं : ताप्लेजुङ सिनाम ‘सेभेन जीआर एचक्यू सिग्नल प्लाटुन’ राईफल म्यान अर्थात् भूतपूर्व गोर्खा सैनिक दुर्गा लिम्बुको छोराले ९ वर्ष अघि बेलायती आवासीय भिसा प्रक्रियाको लागि सूर्य नेम्वाङलाई पटक–पटक गरेर २६ लाख पैसा बुझाए ।

यतिबेला आफूलाई गोर्खा अभियान्ता र ‘एभरेष्ट सोलिसिटर’को ‘लिगल कन्सल्टेन्ट हुँ’ भन्ने नेम्वाङले जसरी पनि भिसा प्रक्रिया मिलाइदिने प्रतिबद्धता सहित २६ लाख लिएका थिए । तर अहिलेसम्म नेम्वाङले भिसा प्रक्रिया मिलाइदिएका छैनन् ।

मोरङ उर्लाबारीको घर बेचेर भिसा प्रक्रियाको लागि नेम्वाङलाई पैसा बुझाएका लिम्बु अहिले आर्थिक समस्याले ताप्लेजुङको सिनाम फर्किएका छन् । भूतपूर्व गोर्खा सैनिकका अर्का सन्तान मोरङका डेनिएल सुब्बाले पनि नेम्वाङलाई उसैगरी ५ लाख भन्दा बढी पैसा बुझाए । तर आवासीय भिसा प्राप्त गरेनन् । डेनिएल सुब्बा अहिले मलेसियामा छन् ।

यसैगरी भोजपुरका श्यामचन्द्र राईले नेम्वाङलाई आवासी भिसा प्रक्रियाको लागि १५ लाख बुझाए । सुरुमा भिसा अस्वीकृत भयो । आफ्नो हिसाबले उनी मुद्दा लडेर बेलायत पुगेका छन् । तर त्यही नाममा लिएको १५ लाख नेम्वाङले अहिलेसम्म फिर्ता गरेका छैनन् ।

गोर्खाहरुको आन्दोलनपछि सन् २००९ देखि बेलायतले भूतपूर्व गोर्खा सैनिकका परिवारका सदस्यहरुपनि आवासीय भिसामा बेलायत बस्न सक्ने कानुन बनाएको थियो । सुरुमा गोर्खाका १८ वर्षमुनीका छोराछोरी र श्रीमतीलाई भिसा दिने प्रावधान बनाएको थियो । तर पछि गोर्खाहरुको निरन्तरको दबाब र आन्दोलनपछि सन् २०१९ देखि बेलायत सरकारले सो को दायरा बढाएर ३० वर्ष कायम गरेको छ ।

आवश्यक कानुनी प्रक्रिया पुरा गर्दा ३० वर्षभन्दा माथिकालाई पनि आवासीय भिसा दिदै आएको छ । नेम्वाङले १८ वर्ष माथिका र ३० वर्ष भन्दा माथिका गोर्खाहरुको सन्तानहरुलाई आवासीय भिसाको लागि कानुनी सहयोग गर्ने भन्दै ठगी चलाएका हुन् ।

Nayapage.com
पिडित श्यामचन्द्र राईले नेम्वाङलाई बुझाएको पैसा

दुर्गाका छोरा, श्यामचन्द्र राई र डेनिएल सुब्बा जस्ता धेरैलाई नेम्वाङले घर न घाटका बनाएका छन् । तर नेम्वाङ अहिले अर्बपति छन् । पाँचथरमा लिफ्ट सहितको घर छ भने काठमाडौंदेखि पाँचथरको यात्राको लागि पनि हेलीकप्टरको प्रयोग गर्छन् ।

नेम्वाङले भूतपूर्व गोर्खा सैनिक दुर्गा लिम्बुको छोरा जस्तै सैयौं गोर्खा सैनिकका सन्तानहरुलाई उसैगरी ठगी गरेका छन् । त्यही पैसाले विलाशी जिवन बिताइरहेका अर्बपति नेम्वाङ गत १५ माघ २०८० मा पक्राउ परेका छन् । प्रहरीले पाँचथरको फिदिम नगरपालिका–४ स्थित उनको निवासबाट पक्राउ गरेको हो ।

बेलायतको लण्डनमा बस्दै आएका नेम्वाङलाई पाँचथर आएको सूचनाको आधारमा फिदिम नगरपालिका–४ स्थित उनकै घरबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पाँचथर प्रहरीले नेम्वाङलाई पक्राउ गरेर काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Nembang 1
पिडितहरुले नेम्वाङको नाममा पैसा जिम्मा गरेको स्लिप । यस्ता सैयौ स्लिपहरु नयाँ पेजसँग सुरक्षित छ

जिल्ला प्रहरी परिसर काठमाडौंले दोस्रो पटक अनुसन्धानको म्याद थपेर अनुसन्धान गरीरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी पक्राउ परेपछि दर्जनौं पिडितहरुले थप उजुरी दिएका छन् ।

हिरासतबाटै चलखेल
आफूलाई कांग्रेसको नेता समेत दाबी गर्ने नेम्वाङले हिरासतबाटै चलखेल गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई २५ माघमा भेटेका छन् । अर्ब ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् । आफू जस्ता दर्जनौंबाट विभिन्न बहानामा मनोमानी ढंगले करोडौं रुपैयां उठाएको भन्दै १० जना पीडितहरुले गृहमन्त्रीलाई भेटेका हुन् ।

Gurkha
गृहमन्त्रीलाई पीडा सुनाउँदै पिडितहरु

उनीहरुले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पनि बुझाएका छन् । ‘हामीलाई नेम्वाङले मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याएको छ । शक्तिकेन्द्र धाएर उम्किने आशंकामा हामीले रकम असुलउपर गरिदिन र ठगी गर्नेलाई सजाय गराउन माननीय मन्त्रीज्यूसमक्ष यो ध्यानाकर्षण पत्र पेस गर्दछौं,’ पत्रमा लेखिएको छ । पत्रमा दिलप्रसाद लिम्बु, देउकुमार लिम्बु, फिपरानी लिम्बु, गंगाप्रसाद लिम्बु, एलिसा लिम्बु, रमिला राई, श्यामचन्द्र राई, लक्ष्मी राई, निलमकुमारी गुरूङ र लेखराज थेवेले हस्ताक्षर गरेका छन् ।

नेम्वाङ आफ्नो बाबुको काजक्रिया गर्न नेपाल आएका बेला पक्राउ परेका थिए । नेम्वाङविरुद्ध पाँचथरकै एक ३२ वर्षीया महिलाले जाहेरी दिएकी थिइन् । जाहेरी अनुसार, नेम्वाङले भूपू गोर्खा सैनिकका दुई छोरीसंग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजार रुपैयाँका दरले ४ लाख ७६ हजार रुपैयां लिएर पनि काम नगरिदिएको आरोप छ । काममा आलटाल गरेपछि पीडितले पैसा फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ ।

विगत चार वर्षदेखि जाहेरवालाको आमालाई प्राप्त हुने रकम नेम्वाङले खर्च गरेको र माग्दा तिमीहरुलाई बेलायत ल्याउन खर्च लाग्छ भन्दै टार्ने गरेको जाहेरवालाको दाबी छ । आफुलाई २४ हजार पाउन्ड (करिब ४० लाख ६० हजार रुपैयाँ ठगेको नेम्वाङविरुद्ध आरोप छ । दिल प्रसाद लिम्बु, उनका दुइ दाजुहरु तथा एक दिदीले आफुहरुबाट नेम्वाङले २१ लाख रुपियाँ ठगेको उजुरी दिएका छन् । त्यस्तै रमिला राईले आफुबाट नेम्वाङले रु साढे ६ लाख ठगेको उजुरी दिएकी छिन् ।

लाहुरेमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला

नेम्वाङ अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिक हुन् । उनी लामो समय गोर्खाहरुको अधिकारको लागि सञ्चालित ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सह–संयोजक थिए । पछि समितिले उनलाई हटाएको थियो । आन्दोलन र अभियानकै क्रममा उनले ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सहमतिमा बेलायत स्थित ‘एभरेष्ट सोलिसिटर’मा सन् २०१७ सालबाट आबद्ध भएर काम गर्न सुरु गरेका थिए ।

Surya Nembang
काठमाडौंबाट पाँचथर जादा यसरी हेलीकप्टर प्रयोग गरेर पार्किङ गरेर राख्ने गरेका थिए

नेम्वाङले भूतपूर्व गोर्खा सैनिकहरुमाथि आवासीय भिषाको लागि संयोजन गरिदिने नाममा ठगी सुरु गरेको भन्दै आलोचना भएको थियो । त्यसपछि उनी ‘संयुक्त संत्याग्रह संघर्ष समिति’ र ‘एभरेष्ट सोलिसिटर’बाट अलग भएका थिए ।

एभरेष्ट सोलिसिटर र ‘संयुक्त संत्याग्रह संघर्ष समिति’बाट अलग भएपछि उनी लण्डनको एउटा पाकिस्तानी ल फर्म ‘बोण्ड आडम सोलिसिटर्स’सँग आबद्ध भएका थिए । नेम्वाङले पाकिस्तानी ल फर्म ‘बोण्ड आडम सोलिसिटर्स’का ‘लिगल कन्सल्टेन्ट हुँ’ भन्दै संयन्त्र नै बनाएर बेलायती आवासीय भिषाको काम सुरु गरेका थिए ।

उनले लन्डनको अल्डरसटमा ‘नेम्वाङ लिमिटेड यूके कम्पनी’ र काठमाडौको बसुन्धरामा ‘गार्डियन एडभाइजर’ नामक कम्पनी खोलेर नेम्वाङले आवासीय ब्रिटिश भिसा दिलाउने भन्दै पैसा अशुल्ने गरेका थिए ।

नेम्वाङले आवासीय भिषाको लागि प्रक्रिया मिलाइदिने भन्दै सुरुमा भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारबाट पल्टनका कागजात, राहदानी, इमेल र बैंक कार्ड लिने गर्दथे । त्यसपछि उनले सुरुमा नै कम्तीमा भिषा आवेदनका लागि भन्दै १ हजार पाउन्ड अर्थात् एक लाख ६८ हजार लिने गरेका थिए ।

नेम्वाङले भिषा प्रक्रियामा क्लाइटको आफैले इमेल बनाई दिएर पासवर्ड राखीदिने गरेका थिए । इमेलमा भिषा प्राप्त गरेको वा नगरेको सूचना प्राप्त भएपछि उनले ठगीको नयाँ श्रृखला सुरु गर्थे । यदि आवासीय भिषा प्राप्त गरेको सूचना पाएपछि भिषाको ग्यारेन्टी हुन्छ ‘यति दिनुहोस्’ भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा अशुल्ने गरेका थिए ।

UK Nembang
बेलायतमा उनले प्रयोग गर्ने महङ्गा गाडीहरु

भिषाको ग्यारेन्टी हुने भएपछि सोझा लाहुरे र तिनका सन्तानहरुले प्रतिव्यक्ति १० देखि ३० लाखसम्म दिने गरेका थिए । भिषा अस्वीकृत भए अब अदालतमा मिलाउनुपर्छ भन्दै उनले ५ देखि २० लाखसम्म अशुल्ने गरेका थिए । अदालतमा भिषाको प्रक्रिया चलिरहेको बेला पनि यति पैसा जम्मा नगरे भिषा प्राप्त नहुने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको एक गोर्खा सैनिकका सन्तानले बताए । अदालतले केस जिताएपछि होम अफिसले आवेदकको पासपोर्ट माग्दा दुई हजार पाउण्ड माग्ने गरेको बताउँदै उनले अतिरिक्त पैसा असुल्ने गरेका थिए ।

बेलायतमा कोर्स नगरि लिगल कन्सल्टेन्ट रुपमा काम गर्नु गैर कानूनी मानिन्छ । तर नेम्वाङले गोर्खा सैनिक र तिनका सन्तानलाई भिषा दिलाएको भन्दै पासवर्ड सहितको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका थिए ।
यही ठगीको पैसाले उनले अर्बको सम्पति जोडेका छन् । उनी नेपालमा आएको बेला हेलीकेप्टरमा मात्रै यात्रा गर्ने गरेका थिए भने बेलायतमा महङ्गा गाडीहरु फेरी फेरी चढ्दै आएका थिए । उनले नेपालमा हुन्डी मार्फत पैसा ल्याउने गरेका थिए । स्रोतका अनुसार उनी बिरुद्ध सम्पती शुद्धिकरणमा पनि मुद्दा परेको छ ।

Surya
सम्पति शुद्धिकरणमा पनि उजुरी

एकपछि अर्को उजुरी
उनी पक्राउ परे लगत्तै एकपछि अर्को पीडित भूपू गोर्खा सैनिक परिवारका आफन्तहरुले क्षतिपूर्तिसहित आफ्नो पैसा फिर्ता गरिदिन माग गरेका छन् । गौरीगञ्ज गाउँपालिका १ झापाका गंगाप्रसाद लिम्बुले आफ्नो परिवारका चार जनाबाट झण्डै २१ लाख रुपैयाँ नेम्वाङले ठगी गरेको भन्दै उजुरी दिएका छन् । आफूले बेलायत जान पाउने भन्दै २०७६ सालमा घरखेत बेचेर तथा ऋण निकालेर नेम्वाङलाई दिएको पीडित लिम्बुले बताएका छन् । नेम्वाङले चार बर्षसम्म भिसा पनि दिलाउन नसकेको र पैसा पनि फिर्ता नदिएको उनको भनाइ छ ।

70318b7f 3ecd 485c 836d a2774d7cc329
उजुरी

‘झापाबाट काठमाडौं बोलाउनुभयो, गोर्खाका सन्तानलाई भिसाका लागि काम गर्न यूके र नेपालमा अफिस खोलेर बसेको छु, ढुक्क हुनोस् भन्नुभयो’, लिम्बुले सञ्चार माध्यमसँग भनेका छन्, ‘हामी तीन दाजुभाई, एक दिदी गरी चार जनाले उहाँको बैंक खातामा रु १८ लाख पठाएका हौं, अन्य तीन लाख रुपैंयाँ हाताहाती दिएका हौं । हामीसंग प्रमाण छ । तर एक जनाको लागि सुरुमा प्रक्रिया गर्नुभयो । अरु तीन जनाका बारेमा मौन बस्नुभयो । त्यसपछि हामीले धोका पायौं ।’

नेम्वाङबाट ठगिएकी रमिला राईको व्यथा पनि उस्तै छ । आफूलाई वकिल बताउने सूर्य नेम्वाङप्रति सुरुमा धेरै विश्वास लागेको भएपनि उनको गतिविधिले शंका जन्माउनु मात्र नभइ अहिले आएर बल्ल आफु फसेको चाल पाएको उनले सुनाइन् । राईबाट चार लाख रुपैयाँ लिएर भिसाको प्रक्रिया समेत नगरिदिएको उनको दुखेसो छ । आफूले अहिलेसम्म सात लाख रुपैंयाँ बुझाइसकेको रमिलाका दाजु चन्द्र प्रसाद राईले सुनाए ।

Ganga Prasad Limbu
पिडित गंगाप्रसाद लिम्बु । तस्बिर : न्यूजबैंक

‘काम गरिदिने विश्वास दिलाएपछि जति जति पैसा भन्यो, बहिनीले त्यति नै पैसा पठाइन् । आवश्यक कागजपत्र समेत बुझाइन् । अपिलको लागि २८ दिनभित्र बुुझाउनुपर्ने विधि प्रक्रिया पुर्याइदिइन् । अहिले बहिनीले घर धितो राखेर ब्याज तिरिरहेकी छिन् ।’

बेलायतको आवासीय भिसा मिलाउने भन्दै नेम्वाङले अहिलेसम्म करिब ९ सय भूतपूर्व गोर्खाका परिवारबाट एक अर्व बढी ठगेको पीडितहरुको दाबी छ ।

नेम्वाङले आफूसँग कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, पूर्व गृहमन्त्री बालकृष्ण खाँड समेतको राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् । स्रोतका अनुसार उनले कांग्रेस सहित नेकपा (एमाले)का केही नेता र नेकपा (माओवादी केन्द्र)का नेताहरुलाई समेत आर्थिक सहयोग गर्दै आएको दबी गरेका छन् । पिडितहरुले भने पहुँचका आधारमा नेम्वाङले उन्मुक्ती पाउने आशंका गर्दै गृहमन्त्रालय धाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७