‘जनयुद्ध’मा सहभागीहरुलाई अली बढी हेपाइ भयो, सबै एक बनौँ, म नेतृत्व छाड्न तयार छु : प्रचण्ड


२०८० फाल्गुण १ मंगलबार ०७:०२ बजे

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनयुद्ध’मा सहभागी नेता–कार्यकर्तालाई हेप्ने र अपमानित गर्ने काम भइरहेको भन्दै ‘जनयुद्ध’मा सहभागी सबैलाई एकजुट बन्न अपिल गरेका छन् । सबै माओवादी शक्ति एक बन्ने अवस्थामा आफू नेतृत्व छाड्न तयार रहेको उनको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित माओवादीको विधान सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजको भन्दै तिनको प्रतिवाद गर्न एकजुट हुनुपर्ने बताए । भने, ‘कोही कामरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु । फेरि यो मोर्चालाई एकताबद्ध गरौं । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौं, सबै एक हौं ।’

प्रचण्डले नेपालमा विगतमा भएका सङ्घर्ष क्रान्तिको अध्ययनका आधारमा जनयुद्धलाई अघि बढाएको उल्लेख गरे । उनले भने, ‘विशाल नेपाल बनाउनका लागि पृथ्वीनारायण शाहले अपनाएका फौजी र कार्यगत रणनीतिहरूमा त्यसको के महत्त्व थियो भन्ने बारेमा सबैभन्दा बढी हामीले अध्ययन गर्‍र्यौँ । नेपालकै राजनीतिक सङ्घर्ष, वर्गसंघर्ष, क्रान्ति, नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा सशस्त्र विद्रोहको अनुभव, जुगेडी किसानको आन्दोलन लगायतको आधारमा नै नेपालमा जनयुद्ध सम्भव छ र जनयुद्धका माध्यमबाट सामन्तवादलाई परास्त गर्न सम्भव, निरङ्कुश तन्त्रलाई परास्त गर्न सम्भव छ भनेर हामीले जनयुद्धको थालनी गरेका थियौँ ।’ 

उनले गणतन्त्रको विरुद्ध दुस्साहसपूर्ण गतिविधि गरिरहेको बताएका छन्। भने, ‘माओवादी एउटा शक्तिमा थियो, त्यति बेला सात राजनीतिक दलहरूलाई सामान्तिक निरंकुश राजाहरूको चङ्गुलबाट फुत्याउने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा फेरि एकचोटी लिएर आउन तागत माओवादीसँग मात्रै थियो। अहिले हामीले पनि कहाँ कहाँ कमजोरी गर्‍यौँ अहिले माओवादी नेतृत्वको आन्दोलन र एजेन्डालाई, माओवादीले गरेको त्याग बलिदान र ऐतिहासिक र दुरगामी कृतिहरूलाई अपमानित तीनै शक्तिहरूले गरिरहेका छन्। प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरुले नै गरेका छन्।’

उनले युद्धका क्रममा साना–साना विषयमा ध्यान पुगेकाले नै आजको दिनसम्म आइपुगेको बताए । भने, ‘कतिपय ठाउँमा सानो कमजोरी गरेर ठूलो क्षति पनि बेहोर्यौं । उत्पीडत वर्गलाई पहिचान र आत्मसम्मान गर्ने अफ्ठ्याराका बाबजुद झाँगिदै पुग्यौं । लिडरसीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति परिवेशअनुसार निर्णय गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो ।’

उनले सबैको आशाको केन्द्र बनेको माओवादीको वर्तमान अवस्था त्यस्तै रहन नसकेको स्वीकार गरे । भने, ‘माओवादी आशाको केन्द्र बनेको थियो । इतिहासलाई बग्याउने छुट कसैलाई छैन । ८० प्रतिशत भू–भाग हाम्रो कब्जामा थियो । जनयुद्धले नै निर्णायक शक्ति बनेको थियो । हामी एक्लैले काठमाडौं कब्जा गर्न सकिँदैन भन्नेमा पुगेकै हो ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७