फरार अभियुक्तसँग पैसा माग्ने डीआईजीका घुमुवालाई उन्मुक्ति


२ फाल्गुन २०८०, बुधबार
madhesh prahari

काठमाडौं :  मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी यज्ञविनोद पोखरेलका घुमुवा सुरेन्द्र ठाकुरले नक्कली डीएसपी बनेर फरार अभियुक्तसँग पैसा मागेको पुष्टि हुँदा पनि उनलाई निलम्बन नगरी महोत्तरीमा खटाइएको छ ।

डीआईजी पोखरेलले प्रदेशको घुमुवाका रुपमा राखेपछि ठाकुरले धनुषा जिल्ला अदालतमा गएर फरार अभियुक्तहरुको सूची मागे । एक अभियुक्तलाई फोन गरी ‘म क्राइम ब्रान्चको डीएसपी बोलेको, तपाई फरार अभियुक्त हुनुहुँदोरहेछ, पक्राउ गर्न आदेश छ, खर्च गर्ने हो भने म मिलाइदिन्छु’ भने । ती अभियुक्त रहेछन्, जिल्ला प्रहरी कार्यालय धनुषाका एक कर्मचारीका आफन्त । उनले तुरुन्तै ती आफन्तलाई भेटेर त्यो हवल्दार ठाकुरले पैसा मागेको अडियो सुनाए । ती कर्मचारीले डीआईजी पोखरेललाई फोन गरेर आइतबार प्रदेश प्रहरी कार्यालयमै गएर घुमुवा ठाकुरले पैसा मागेको अडियो उनलाई सुनाइदिए ।

डीआईजी पोखरेलले अडियोमा स्पष्ट रुपमा पैसा माग्ने ठाकुरलाई निलम्बन गरी कारबाही गर्नुपर्नेमा सोमबार महोत्तरी सरुवा गरेका छन् । निलम्बन नगरी महोत्तरीमा सरुवा गरी ठाकुरलाई उन्मुक्ति दिएर दण्डनहीनतालाई प्रश्रय दिएका छन् । महोत्तरी र धनुषा जोडिएका जिल्ला हुन् । ठाकुरलाई देखावटीरुपमा प्रदेशबाट महोत्तरी सरुवा गरेर धनुषामै असुल्न सहज पार्न खोजिएको आरोप डीआईजी पोखरेलमाथि लागेको छ । डीआईजी यज्ञबिनोद पोखरेलले भने उक्त कुरा पूर्णतया गलत भएको भएको बताए । उनले भने–त्यस्तो अडियो भए मलाई पठाइदिनुहोला ।’

प्रदेश प्रहरी कार्यालयका डीआईजीले आधा दशक धनुषामा घुमुवाका रुपमा खटाएका ठाकुरलाई महोत्तरीसम्मको तस्करीको नेटवर्कबारे जानकार र  असुलीमा पारंगत भएकाले डीआईजी पोखरेलले उनलाई पर्सामा दरबन्दी भए पनि प्रदेश प्रहरी कार्यालयमा घुमुवाका रुपमा खटाएका थिए । जागिरमा प्रवेश गरेदेखि नै घुमुवा बसेका ठाकुरको घर सर्लाही हो । तर उनले घुमुवाका रुपमा अथाह कमाएर जनकपुर उपमहानगरभित्रै एउटा घर, तीन वटा घडेरी जोडिसकेको स्रोतले नेपालफेसलाई बताएको छ । सिपाहीबाट जागिर खाएको र भर्खर बढुवा भएका ठाकुरसँग यत्रो सम्पत्ति कहाँबाट आयो ? भन्ने चर्चा उनीसँगै भर्ना भएका प्रहरीबीच नै हुने गरेको छ ।

शैलेश थापाले अनियमिततामा बदनाम देखिएपछि हेटौंडा गणमा सरुवा गरेका ठाकुर उनी अवकाश भएपछि काजमा धनुषा सरुवा भए । बसन्तबहादुर कुँवर आईजीपी भएपछि दरबन्दी फिर्ता अभियान अन्तर्गत पुनः हेटौंडा गणमै फिर्ता भएका थिए । हेटौंडामा हुँदा पनि धनुषामा असुली गर्न गएको गुनासो आएपछि उनलाई सिन्धुली पठाइएको थियो । तर एक महिनाअघि भएको सरुवामा कर्मचारी प्रशासनका हाकिमलाई प्रभावमा पारी जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भए ।

मधेश प्रदेशमा डीआईजी सरुवा हुने हल्लासँगै रमाना नलिई बसेका थिए । पोखरेल सरुवा हुनासाथ रमाना लिए । रमाना लिइसकेपछि पोखरेलले ठाकुरलाई सोझै दरबन्दी भएको पर्सामा हाजिर नगराई प्रदेशमा हाजिर गराए । प्रदेशमा हाजिर गराएर उनको तस्करीको नेटवर्क थाहा पाएकाले पोखरेलले उनलाई घुमुवा कमाण्डर बनाएर उनकै कमाण्डमा सहायक हवल्दार अंकित सिंह र सिपाही राकेश यादव टोली खटाएका थिए ।

घुमुवाका रुपमा डीआईजी पोखरेलले प्रदेशमा हाजिर गराउनासाथ ठाकुरले ५–७ जना ब्यापारीसँग फोन गर्दै दररेट माग्दै डीआईजीको नाममा रकम उठाइसकेका छन् । दररेट नबुझाउने जनकपुरका ब्यापारी सुरेश चाचानका भन्सार छलीका ८ लाख बराबरका सामान केही समयअघि बरामद गरे । २ वटा मोटरसाइकलमा ल्याएका सामान र मान्छेसहित पक्राउ परे । तर डिल मिलेपछि मान्छे भगाएको र एउटा मोटरसाइकल र एक पोका सामानमात्र बरामद देखाइयो । जसमा २ लाख ५० हजार घुस ठाकुरले लिएको स्रोत बताउँछ ।

आईजीपी कुँवरले कार्यालय प्रमुखहरुले तराईका जिल्लामा काजमा घुमुवा राख्ने, तस्कर र अपराधीसँग उनीहरुको कनेक्सन देखिएपछि दरबन्दी फिर्ता गर्ने अभिया ननै चलाए । तर डीआईजीले बदनामहरुलाई घुमुवा राख्ने, उनीहरुले रकम मागेको रकेर्ड नै भेटिए पनि निलम्बन नगर्नुले दण्डहीनता मौलाउने कुरातर्फ भने ध्यान पुग्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७