एसपीहरुलाई गृहमन्त्रीको सिधा निर्देशन, आईजीपीले चाहिँ अब के गर्ने ?


३ फाल्गुन २०८०, बिहीबार
Home minister and IGP

काठमाडौं : उपप्रधानमन्त्री एवव् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक (एसपी) हरूलाई मन्त्रालयमा बोलाएर भने, ‘ ‘कमजोरी देखिए तत्काल कारबाही गर्छु ।’

गृहमन्त्रीले यो निर्देशन दिइरहदा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर भने सुनेर बसिरहेका थिए । बुधबार राती प्रहरी प्रधान कार्यालयले एकैचोटि ७८ जना एसपी सरुवाको सूची निकालेको छ । ७८ जनाको सरुवा गर्दा एकैपटक २५ जिल्लामा नेपाल प्रहरीका प्रमुख हेरफेर गरिएको छ । गृहमन्त्री श्रेष्ठले ७८ ती एसपीहरुलाई बोलाएर निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य किटान गरेर कार्यक्षेत्रमा खट्न निर्देशन दिए । सरकारले पहुँच र विभिन्न स्वार्थका आधारमा होइन क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरुवा गर्ने नीति अगाडि बढाइसकेकोले बिना सङ्कोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए ।

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले चेतावनी दिएका छन्। प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्नसमेत उनको निर्देशन छ।

प्रहरी नियमावली, २०७१ ले प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ । प्रहरी नियमावलीको धारा ४८ को सरुवा गर्ने अधिकारीको व्यवस्थाको (ग) मा लेखिएको छ, ‘प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्म प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरिक्षकसम्म प्रहरी नायव महानिरिक्षकले गर्ने ।’

नियमावली सरुवा मात्रै होइन बढुवा, कार्यम्पादन मुल्याङ्गकन सबैको जिम्मा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ । तर प्रहरी नियमावलीको धारा ४८ अनुसार आईजीपी कुँवरले कार्य सम्पादन आबश्यकताको आधारमा मात्रै एसपीहरुको सरुवा गरेका भने होइनन् । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालयको रुची र दबाबमा उनीहरु सरुवा भएका प्रधान कार्यालय स्रोतको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले सरुवामा हस्तक्षेप गरेपछि आईजीपी कुँवर र प्रधान कार्यालयका उच्च अधिकारीहरुले तिव्र असन्तोष जनाएको बताइन्छ । त्यति मात्रै होइन आफू मातहतका कमाण्डहरुलाई आबश्यक निर्देशन दिने काम संगठन प्रमुख अर्थात् आईजीपी कुँवरको हो । आईजीपीले कुनै निर्देशन वा बिदाई गर्न नपाई गृहमन्त्रीले एसपीको भेला नै बोलाएर सम्बोधन गरेपछि आईजीपी कुँवर अब के गर्ने ? भनेर रनभुल्लमा परेको स्रोतको भनाई छ ।

प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘गृहमन्त्रीज्यूले तलका कमाण्डरहरुलाई सिधै भन्दा पनि प्रहरी प्रमुख मार्फत आबश्यक निर्देशन दिने परम्परा हो । अब हरेक कमाण्डहरुको भेला बोलाएर निर्देशन दिदा प्रधान कार्यालय र प्रमुखले चाहिँ के गर्ने ? भन्ने प्रश्न स्वभाविक छ ।’

बुधबार तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ। कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन्।

यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ। स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७