लिग टुको पहिलो खेलमा नेपाल पराजित


२०८० फाल्गुण ३ बिहीबार १०:४५ बजे

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ २०२४-२७ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

विहीबार टियु क्रिकेट मैदानमा नामिबियाले विजयी सुरुवात गर्ने क्रममा ४ विकेटको जित निकालेको हो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालले टियु मैदानमा १५ ओडीआई खेलपछि हार बेहोर्द प्रशिक्षक मोन्टि देशाइको घरेलु ओडीआईको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । फेब्रुअरीमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्ड दुबैलाई हराएको थियो ।

मार्चमा लिग २ मा नै युएई र पपुवा न्युगिनी दुबैलाई हराएको थियो । एसीसी प्रिमियर कप २०२३ अप्रिलमा नेपालले समूह चरणमा ओमान र फाइनलमा यूएईलाई हराएको थियो । यसै साता क्यानडाविरुद्ध तीन खेलको सिरिजमा नेपालको क्लिनस्विप गर्दै घरेलु मैदानमा लगातार १५ खेलमा अपराजित बनेको थियो ।

युएईसँगको २०२२ नोभेम्बर सिरिजमा मोन्टी नेपालको प्रशिक्षक थिएनन् । अन्य सबै जितमा मोन्टी नेपालको मुख्य प्रशिक्षक थिए । गतवर्ष फागुनमा आईसीसी क्रिकेट विश्वकप लिग २ मा नामिबिया र स्कटल्यान्डसँगको सिरिजबाट सुरुवात गरेका थिए ।

मोन्टीको ओडीआईमा घरेलु मैदानमा लगातार १३ अपराजित यात्रा समाप्त भएको हो । मोन्टीको प्रशिक्षणमा टी(२० आईमा भने नेपाल घरेलु मैदानमा नेपाल पराजित भई सकेको छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो ।

नामिबियाका लागि अलराउन्डर जान निकोल लफ्ट इटन र जेजे स्मिटले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितको आधार तय गरे । स्मिट ३५ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे । लफ्ट-इटनले ३० बलमा ५ चौकासहित ३१ रन जोडे । नामिबियाका लागि जान फ्रिलिंकले ३४ रन जोडे । उनी २१ औं ओभरमा सोमपालको बलमा क्याच आउट भएका थिए ।

ओपनरद्वय निको डाभीन १५ रन र माइकल भान लिंगेनले ३३ बलमा २३ रन जोडे । दुवैलाई ललित राजवंशीले आउट गरे ।कप्तान एरास्मस ८ रन बनाएर सोमपालको बलमा क्याच आउट भए । उनी आउट भएको ३ बलपछि नै फ्रिलिंक आउट भएका थिए ।

२५ औं ओभरमा जेन ग्रीन आउट भएपछि नेपालले खेलमा फर्कने संकेत पाएको थियो । सोमपालले लगातार ३ विकेट लिँदै ८१(२ बाट ८४(५ को स्थितिमा पुर्याएपछि नामिबिया दबाबमा थियो । तर स्मिट र लफ्ट इटनले टोलीलाई जितसम्म पुर्याए ।

त्यसअघि नेपालले ४१।१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो ।

कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए ।

नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २-२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए ।

ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक ९खेलको पहिलो बलमा विकेट० आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए ।

ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे ।

लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३-३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१-४ को स्थितिमा पुग्यो ।

त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे ।

लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४-७ को अवस्थामा पुग्यो ।

३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।

एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७