भारतमा चर्कियो किसान आन्दोलन, आज भारत बन्द


४ फाल्गुन २०८०, शुक्रबार
India farmers

नयाँ दिल्ली : भारतका संयुक्त किसान मोर्चासहितका किसान संगठनहरुले संयुक्त रुपमा ग्रामिण भारत बन्द आह्वान गरेका छन् । कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका किसानहरूले बन्दको अपिल गरेका हुन् । यो बन्दलाई कांग्रेस, कम्युनिष्ट लगायतका पार्टी र किसान संगठनहरुले पनि समर्थन गरेका छन् ।

किसान प्रतिनिधि र सरकारबीच बिहीबार राति अबेरसम्म भएको वार्ता निष्कर्ष विहीन भएको थियो । भारतीय मिडियाहरुका अनुसार बिहीबार बेलुकी आठ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो । वार्ता विफल भएपछि उनीहरुले शुक्रबार बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म बन्द आह्वान गरेका हुन् ।

किसानहरुले एमएसपीमा खरिदको ग्यारेन्टी गर्नुपर्ने र त्यसको सूचना जारी गर्नुपर्ने, स्वामिनाथन आयोगको प्रतिवेदन लागु गर्नुपर्ने, कृषकलाई लागत खर्चको ५० प्रतिशत नाफा दिनुपर्ने, किसानको ऋण मिनाह गर्नुपर्ने, किसान आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिनुपर्ने, कृषकलाई भारत सरकारले चलाएको एउटा रोजगारीसम्बन्धी योजना अन्तर्गत वर्षमा २०० दिन रोजगारी दिनुपर्ने र दैनिक ज्याला ७०० भारु बनाउनुपर्ने माग छ ।

त्यस्तै, विश्व व्यापार संगठन (डब्लूटीओ)बाट भारत अलग हुनुपर्ने, किसानका लागि पेन्सन कार्यक्रम सरकारले ल्याउनुपर्ने, गत आन्दोलनमा मारिएका किसानको परिवारलाई क्षतिपूर्ति र रोजगारीको माग किसानले सारेका छन् ।

सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको विरोध गरेका थिए। झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौँ सहभागीको ज्यान गएको थियो। सरकारले विवादित कानुन फिर्ता लिएपछि बल्ल किसानहरूले आन्दोलन फिर्ता लिएका थिए। अहिले किसानहरू पुन : आफ्ना माग पूरा नभएको भन्दै सडकमा आएका हुन्।

मोदी सरकारले सन् २०२० मा ल्याएको तीनवटा कृषि कानुनको विरोधमा किसानहरूले दुई वर्षअगाडि पनि लामो आन्दोलन गरेका थिए । एक वर्षसम्म चलेको आन्दोलनको दबाबमा सरकारले तीनवटै कृषि कानुन फिर्ता लिन बाध्य भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७