‘कमिसन’को चक्करमा नयाँ पेट्रोल पम्प खोल्दै प्रहरी


४ फाल्गुन २०८०, शुक्रबार
Nepal police scaled

काठमाडौं : विश्वमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । नेपालमा पनि विद्युतीय सवारी प्रयोग गर्नेको संख्या दिनानुदिन बढिरहेको छ । पेट्रोलियम पदार्थको खपत घट्ने क्रम जारी रहेको नेपाल आयल निगमले नै बताउँदैआएको छ । यहीक्रमले विद्युतीय सवारी साधन प्रयोग बढ्दै जाँदा पेट्रोल-डिजलबाट चल्ने सवारी घट्दै जानेछन् ।

एकातिर पेट्रोलियम पदार्थमा हुने खर्च कटौती र अर्कोतिर वातावरणीय दृष्टिकोणले पनि विद्युतीय सवारी प्रयोग बढिरहेको छ । विद्युतीय सवारीलाई प्राथमिकता दिनका लागि चार्जिङ स्टेसनहरु खोल्नुपर्नेमा नेपाल प्रहरीले भने पेट्रोल पम्प निर्माणमा २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । ७७ हजार प्रहरीको गाँस काटेर जम्मा भएको कल्याणकारी कोषको रकमबाट पम्प खोल्न लागिएको हो ।

२ महिनापछि ४ बैशाख, २०८१ मा अवकाश हुन लागेकी प्रशासन विभागकी प्रमुख एआईजी मिरा चौधरी र २०८१ भदौमा अवकाश हुन लागेका कल्याण महाशाखाका एसएसपी रेवती ढकालको कुरा सुनेर महानिरीक्षक बसन्तबहादुर कुँवरले पोलिसी कोअर्डिनेसन कमिटी(पीसीसी)बाट बुटवल तालिम केन्द्र र कोहलपुरमा पेट्रोल पम्प निर्माण गर्र्ने निर्णय गराएका छन् ।

नेपालमा विद्युतीय गाडीलाई प्राथमिकता दिन चार्जिङ स्टेसनको आवश्यकता छ । प्रहरी भने पेट्रोल पम्प खोल्न किन लागेको हो भनेर पीसीसी मिटिङमा केही एआईजी, डीआईजी र एसएसपीले भने पनि आईजीपी कुँवरले उनीहरुको कुरा सुनेनन् । उनले एआईजी मिरा चौधरीको कुरा सुनेर पेट्रोल पम्प खोल्ने निर्णय गराएका छन् ।

अवकाशको मुखमा रहेका एआईजी मिरा चौधरी र कल्याणका एसएसपी ढकाल छिटोछिटो पम्प निर्माणको ठेक्का दिने र लाभ लिनतिर लागेको आरोप छ । अवकाशको मुखमा रहेका अधिकृतलाई महत्वपूर्ण जिम्मेवारी दिनु नहुने प्रचलन रहेको छ । तर आईजीपी कुँवरले चौधरी र ढकाललाई प्रहरीको खरिदको सबै पाटो हेर्ने प्रशासन र ढकाललाई कल्याणको डाडुपन्यू सुम्पेकाले उनीहरुले गुमराहमा पारी चार्जिङ स्टेसन खोल्नुपर्नेमा पेट्रोल पम्प खोल्ने निर्णय गराउन सफल भएका छन् ।

आईजीपी कुँवरले यो पाटोको ख्यालै नगरी चौधरी र ढकालको कुरामात्र सुनेको आरोप छ । विद्युतीय सवारीको प्रयोग बढिरहेको पेट्रोल पम्पमा गर्ने लगानी अनुत्पादक हो । पम्प खोल्न गरिने २५ करोड कल्याणकारी कोषको रकम अस्पतालको कल्याणकोषमा जम्मा गरी त्यसबाट आउने मासिक २५ लाखको ब्याजको रकमले बहाववाला वा सेवानिबृत्त प्रहरीलाई निःशुल्क औषधि बितरण गर्ने हो भने त्यसले पार्ने सकारात्मक प्रभाव प्रहरीको कामकारबाहीमा देखिनेछ भने भूपूहरुले संगठनको गुणगान गाउनेछन् ।

त्यो काम गरेको श्रेय संगठनमा सधैं हालका आईजीपी कुँवरले पाउनेछन् । जसरी अस्पताल र स्कुल स्थापना गरेको श्रेय पूर्व आईजीपी डीबी लामाले पाउँदैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७