के प्रधानमन्त्री अर्थमन्त्रीसँग आक्रोशित छन् ?


४ फाल्गुन २०८०, शुक्रबार
Prakash Sharan Mahat

काठमाडौँ : अहिले सिंहदरबारतिर एउटा चर्चा छ, ‘प्रधानमन्त्री र अर्थमन्त्रीको सम्बन्ध राम्रो छैन ।’ यही चर्चाको विचमा शुक्रबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राम्रो समन्वय भइरहेको दाबी गरे । भने, ‘कता-कता आइरहेको छ, कि अर्थमन्त्रीले बजेट कटौती गरे, त्यसमा प्रधानमन्त्रीको पनि सहमति छैन, प्रधानमन्त्री र अर्थमन्त्रीबीचमा विवाद छ भनेर प्रचार भएको छ । कसले किन यस्तो भ्रमपूर्ण प्रचार गरेको हो ? म आफैँ अचम्मित छु । वास्तवमा प्रधानमन्त्रीसँग कुनै वादविवाद छैन । राम्रो समन्वय र छलफल भइरहेको छ । विवादको कुनै कुरा छैन । यस्तो भ्रमको सञ्चार नगरिदिन मेरो आग्रह छ ।’

अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको २ खर्ब भन्दा बढी बजेट कटौती गर्दा थाहा नदिएको कारण प्रधानमन्त्री प्रचण्ड रिसाएको चर्चा छ । अर्थमन्त्री डा. महतले प्रस्टीकरण दिदै माघ मसान्तमा सार्वजनिक गरिएको मध्यावधि समीक्षामा प्रस्तुत गरिएको संशाधित अनुमानलाई कटौती भन्न नमिल्ने जिकिर गरे ।

उनले भने, ‘अर्धवार्षिक समीक्षाको विषयलाई लिएर सञ्चारमाध्यममा आएको समाचारले आमजनमासमा दुविधा हुने देखिएको छ । आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्वसम्बन्धि ऐन बमोजिम अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिन्छ । ६ महिनाको बजेट कार्यान्वयन र राजस्वको संकलनबारे समीक्षा गरिन्छ । यतिसम्म राजस्व संकलन भइरहेको छ, कठिनाइ के छरु भनेर समीक्षा गरिएको छ । आउने ६ महिनामा कति खर्च गर्न सकिन्छ भनेर लेखिन्छ । जतिसम्भव हुन्छ खर्च गर्न तयार छौं ।’

पछिल्लो ६ महिनाको ट्रेण्ड हेरेर आगामी खर्च र राजस्व कति हुन्छ अनुमान पेस गरेका उनको भनाइ छ । उनले भने, ‘सार्वभौम संसद्बाबाट पारित भएको बजेटै कटौती भयो भनेर सूचना सम्प्रेषण भएको छ । प्रधानमन्त्रीसँग अर्थमन्त्रीको समन्वय नै नभएको भन्ने प्रचार गरिएको छ । यो भ्रम हो । सिलिङको विषयमा पनि फरक फरक विषय आएको छ । हाम्रो प्रणालीभित्र खुलस्त छलफल हुन्छ । प्रधानमन्त्रीज्यूले पनि आफ्नो कुरा राख्नुहुन्छ, हामीले आफ्नो कुरा राख्छौं ।’ विनियोजन ऐनअनुसारको खर्च र आयको अनुमान यथावत नै रहेको उनले जानकारी दिए। 

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएपनि यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री महतले प्रधानमन्त्रीलाई थाहै नदिई १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेको कारण प्रधानमन्त्री रिसाएको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७