जाँचबुझ आयोगको निष्कर्ष : बालकुमारी घटनामा हुनुमा मन्त्री ज्वाला बढी दोषी


४ फाल्गुन २०८०, शुक्रबार
Home Ministery of Nepal

काठमाडौं : बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शुक्रबार प्रतिवेदन पेस गरेको छ ।

बालकुमारी घटना हुनुमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बढी दोषी रहेको निकष्र्ष समितिले निकालेको छ । समितिका एक सदस्यले नयाँ पेजसँग भने, ‘मन्त्रीज्यूले सुरक्षा अवस्थाबारे जानकारी नलिई घटनास्थलमा पुगेको देखियो । सुरक्षा व्यवस्थालाई बेवास्ता गर्नुभएको छ ।’

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्वयन गरिने बताए । पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी, अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु भएको थियो। 

त्यसका आधारमा डीएसपी उमेश लम्साल र मन्त्रीका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीलाई निलम्बन गरिएको थियो भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख शिद्धिविक्रम शाहको सरुवा गरिएको थियो ।

उक्त घटनाको जाँचबुझ गरी एक महिनाभित्र राय, सुझाव र सिफारिस सहितको प्रतिवेदन पेस गर्नेगरी नेपाल सरकार (मन्त्रिपरिषद्ले) पुस १६ मा जाँचबुझ आयोग बनाएको थियो। 

उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्ष तथा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अरुणकुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहनुभएको आयोगले पुस २० देखि काम सुरु गरेर १५ दिन समय थप गरी ४४ दिनमा प्रतिवेदन बुझाएको हो।

आयोगका अध्यक्ष पौडेलले जारी गरेकाे विज्ञप्तिमा आयोगले घटनास्थलको निरीक्षण गरेको, प्रत्यक्षदर्शी, सञ्चारकर्मी, पीडितका परिवार, घटनाका घाइते, विशेषज्ञ डा. तथा घटनासँग सम्बन्धित अन्य मानिससहित १६ जनाको बयान कागज गरेको र घटनासँग सम्बन्धित सुरक्षा निकायका पदाधिकारी एवम् अन्य समेत गरी २९ जनाको बयान गरेको जनाइएको छ। 

ईपीएस कोरिया शाखा बालकुमारी, जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रहरी परिसर ललितपुर, सशस्त्र प्रहरी बल, नेपाल २१ नम्बर गण दक्षिणकाली ललितपुर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ललितपुरबाट प्रतिवेदन लिइएको, घटनास्थलबाट बरामद भएका भौतिक प्रमाणको परीक्षण प्रतिवेदन तयार गरिएको, शव परीक्षण प्रतिवेदन तयार गरिएको, उपत्यका प्रहरी कार्यालय परिचालन कक्ष एवम् प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी सञ्चारको विवरण तथा सिसीटीभी फुटेज लिइएको, घटनास्थल वरपर उपलब्ध भएसम्मका सिसीटीभीबाट फुटेज लिइएको र आयोगको इमेलमा प्राप्त भएका सूचनाहरू समेतलाई गहन अध्ययन तथा विश्लेषण गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७