‘यौन दुर्व्यवहार’को आरोपपछि शर्मिलाविरुद्ध अदालत पुगे कृष्ण कँडेल


४ फाल्गुन २०८०, शुक्रबार
Krishna sarmila shrestha

काठमाडौ : लोकदोहोरी कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् । कँडेलले शुक्रबार शर्मिला श्रेष्ठलगायत विरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

उनले इन्द्रेणीबाट निकालिएका शर्मिलासहितका कलाकारहरुले लगाएको आरोपको प्रष्टीकरण दिन आज अपराह्न पत्रकार सम्मेलनको आयोजना गरेका थिए । लगत्तै कँडेलले उनीहरुबिरुद्ध अदालतमा मुद्दा दर्ता गराए । योसँगै विवाद अदालत पुगेको छ । दर्ता मुद्दामा शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र वि.क र  लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाइएको छ ।

पहिले इन्द्रेणीमै काम गर्ने ६ जना कलाकारहरुले पहिले फेसबुक लाइभमा र लगत्तै पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको बताएका थिए । शर्मिलाले आफू तीनवर्षदेखि ’यौन दुर्व्यवहार’ को शिकार भएको गम्भीर आरोप समेत लगाएकी थिइन् ।

sharmila shrestha and krishna Kadel

तर, कँडेलले भने त्यस्ता आरोप निराधार रहेको दाबी गरेका छन् । आज पत्रकार सम्मेलनमा उनले श्रम शोषण नगरेको र इन्द्रेणीको रकम हिनामिना नभएको जिकिर गरे । तीन वर्षअघि ’ह्यारेस्मेन्ट गरेको भए अहिलेसम्म किन नबोलेको ? भन्दै उनले उल्टै प्रश्न गरेका छन् । 

मुद्दामा भनिएको छ,‘विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्यतिको गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ ।’

कार्यक्रम सञ्चालक कृष्ण कँडेल श्रेष्ठको आरोपको खण्डन समेत गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले कसैको श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य नगरेको बताएका हुन् ।

‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दागर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिङ्गो संस्थालाई नै धराशायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरवार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुखित छु’, कँडेलले अगाडि भनेका छन्– ‘झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणी माथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु ।’

के भनेकी थिइन् शर्मिलाले ?
म विगत ५-७ वर्षदेखि इन्द्रेणीमा थिएँ । दर्शकहरूले मलाई नियमित देखिराख्नुभएको थियो । तर, पुसदेखि म इन्द्रेणीमा गएकी छैन । कार्यक्रमहरू रेकर्ड भइरहे पनि हामीलाई बोलाइएको छैन । एक महिना प्रतीक्षा गर्दा पनि कुनै रेस्पोन्स नभएपछि लाइभ आउन बाध्य भएका हौं । धेरै दर्शकहरूले कार्यक्रमका बारेमा सोधिरहनु हुन्छ । म विभिन्न बहाना गरेर पन्छिन्छु ।

आज सरस्वती पूजाको दिन हो । म सरस्वती माताको कसम खाएर भन्छु कि कुनै झूटो कुरा बोल्दिनँ । मेरी आमाले टिभीमा कृष्ण कँडेललाई देख्दा ढोग्नुहुन्छ । मेरो बुवाले पनि भगवान् मान्नुहुन्छ । त्यसैले मैले घरमा भन्न सकेको छैन । मलाई थाहा छ, दर्शकबाट पनि गालीको वर्षा हुन्छ होला । जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला । तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिनँ । औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ ।

टिका सानुलाई बिदा गर्ने बेलामा उहाँले भन्नुभएको थियो कि, एकजनालाई झम्टिन आउने बाघले तपाईंहरूलाई पनि भोलि टोक्न सक्छ । यस्तै नै भएको छ । हामीलाई किन बोलाइएन त भनेर अफिसमा जाँदा मेरा कलाकार साथीहरू मसित बोलेनन् । म जाँदा दनादन कार्यक्रम सुटिङ भइरहेको थियो । म स्टुडियो भित्र छिरिनँ । अफिसका स्टाफहरूसँग राम्रो हाँसिखुशी कुरा गरेँ । आफ्नो चोट लुकाएर आएँ ।

म अब ढुंगाको भगवान्‌लाई विश्वास गर्दिनँ । इन्द्रेणीमा काम गर्दा नै मेरो स्वर, शरीर सबै सकियो । तँलाई उपचार गर्नुपर्छ कि भनेर कहिल्यै सोधिएन । लास्टमा परेको बोलामा मात्र बोलाउने र तलबमा नराख्ने भनेर हटाइयो । मानसिक टर्चर दिइयो ।

एक वर्ष अगाडि पनि यस्तै व्यवहार भएपछि म १५ दिनसम्म इन्द्रेणी नगई बसेकी थिएँ । त्यो थाहा पाएपछि मेरो आमाले भगवानको थलो छोडेर हिँड्ने ? तैंले के गरेर खान्छेस् भनेर मलाई गाली गर्नुभयो । घरबाट टर्चर भएपछि म आफैं गएँ । क्यामरा अन भएपछि मुसुक्क हाँसेर नाच्थेँ । तर, भित्र पीडा अर्कै थियो । संस्थाको इज्जत जान्छ भनेर हामीले बाहिर बोलेनौं । आखिर उहाँले नै हाम्रो रोजिरोटी टारिदिनुभएको थियो ।

म मेरी आमासित क्षमा माग्छु, तपाईंले भगवान् ठानेको मान्छेलाई मैले खप्न सकिनँ । उहाँको प्यारी हुन सकिनँ । किन भन्ने चाहीँ पछि भन्नेछु ।

कृष्ण कँडेलको सालो पर्ने लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपात भएको बताए । उनले भने, ‘कृष्ण कँडेलले राणाको जस्तो स्वभाव देखाउनुहुन्थ्यो । गत माघ ५ र ६ गते गते एउटा मिटिङ भनेर सबैलाई बोलाइयो । हामीलाई सीसी क्यामरा नभएको कोठामा राखियो । ८-१० जना डन पाराका मान्छेहरू राखेर दाइ पूर्ण कँडेल र मप्रति हातपात गरियो । उहाँ .(कृष्ण कँडेल) मेरो भिनाजु हो । कुशल कँडेल मेरो भाञ्जा हो । भाञ्जा र भिनाजुलाई लात्तै लात्तले हान्यो भनेर उहाँको श्रीमती, मेरो दिदी प्रतिमा कँडेलले गाउँभरि प्रचार गर्नुभएको छ । हेर्नुस् मेरो हातमा गाँठा पनि छन् ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७